मोनोरेल चलाउन कामनपा सक्रिय



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौं महानगरपालिकाले मोनोरेल सञ्चालनका लागि सक्रियता बढाएको छ। काठमाडौंका विभिन्न रुटमा मोनोरेल चलाउन सकिने पहिचान गर्दै साइमेक्स इंक कम्पनीले उक्त महानगरपालिकालाई सात महिनाअघि सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो।

उक्त कम्पनीले गत साउनमा बुझाएको अध्ययन प्रतिवेदनमा पाँचभन्दा बढी रुटमा सो रेल चलाउन सकिने प्रस्ताव गरिएको छ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पहिचान भएका रुटको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) केही दिनभित्रै तयार पारिने जानकारी दिनुभयो।

उहाँका अनुसार पहिचान भएका रुटमध्ये सबैभन्दा पहिले १ नम्बर रुट तिलगंगादेखि कलंकीसम्मको १० किलोमिटर खण्डको डीपीआर तयार पारिनेछ। यसको डीपीआरको जिम्मा पनि साइमेक्सलाई नै दिइनेछ। यसका लागि केही दिनभित्र लिखित सम्झौता गरिने प्रवक्ता कार्कीले बताउनुभयो।

साइमेक्सले पहिलोचरणमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल सञ्चालनको प्रस्ताव गरेको छ। यसको रुट तिलगंगाबाट शुरू भएर एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुने र भविष्यमा पहिलोचरणको यसै रुटलाई कीर्तिपुरसम्म लम्ब्याउन सकिने अध्ययन प्रतिवेदनमा देखाएको छ। सोही प्रतिवेदनमा दोस्रो रुटमा महाराजगन्ज नारायणगोपालचोकदेखि गोदावरीसम्म २० किमी मोनोरेल सञ्चालन गर्न सकिने जनाइएको छ। सो रुट नारायणगोपालचोक–रत्नपार्क–सातदोबाटो हुँदै गोदावरीसम्म विस्तार गर्न सकिनेछ।

उक्त कम्पनीले तेस्रो रुटका रूपमा चक्रपथ परिक्रमालाई रोजेको छ। कम्पनीका अनुसार १० किलोमिटर दूरीको लिंक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्नेछ। निर्माण कार्य २ वर्षभित्र सक्ने जनाइएको छ। कम्पनीले मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्