किन बढ्दै छ सम्बन्ध विच्छेद ?



प्रशान्त ओली, काठमाडौं
झापाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ वर्षको उमेरमा बिहे भयो। पारिवारिक खटपटका कारण केटाले केही समयमै छोड्यो। माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनीरूपमै सम्बन्धसमेत विच्छेद भइसकेको छ।

तुल्सीपुर, दाङकी नाम २० वर्षीया रवीना बस्नेतको पनि यस्तै अवस्था छ। काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्– ‘दुई वर्षअघि १८ वर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनामै सम्बन्धविच्छेद गर्नुपर्यो।’

दार्चुलकी १७ वर्षीया मिता ठगुन्ना (नाम परिवर्तन) ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन्। कसैले नमान्दा नमान्दै भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो। बिहे भएको वर्ष दिन नपुग्दै विदेशिएका श्रीमान्ले विस्तारै बेवास्ता गरे। अन्ततः उनको पनि कानुनीरूपमै सम्बन्ध विच्छेद भइसकेको छ।

काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि यस्तै छ गुनासो। २७ वर्षीय सविनले ४ वर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे। बिहे दर्ता पनि भयो। तर सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन्।

माथि उल्लिखित प्रसंगहरू प्रतिनिधिमूलक हुन्। आज समाजमा यसरी नै दिनहुँ सम्बन्ध विच्छेद बढ्दै गएको पाइएको छ। काठमाडौं जिल्ला अदालतको पछिल्लो तथ्यांक मात्र हेर्दा पनि यसको पुष्टि हुन्छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ।

नेपाल समाचारपत्रसँग काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्नुहुन्छ– ‘सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेको छन्। अधिकांश १९ देखि २५ वर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन्, यो क्रम बढ्दो छ।’

बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरू पनि भएको उहाँको भनाइ छ। काठमाडौं जिल्लामा गत वर्ष २ हजार ३ सय ९२ वटा यस्ता मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ६ सय ८३ वटा दर्ता भएको छ। विशेष गरी १८ देखि ३० वर्ष उमेर समूहका युवा–युवती सम्बन्ध विच्छेदका लागि आउने गरेका छन्। यस्ता मुद्दा महिनामा १ सय ५० देखि २ सय वटासम्म पर्ने गरेको देखिएको छ।

स्थानीय स्वायत्त शासन ऐनले २ जनाको बेमेल भए सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ। सम्बन्ध विच्छेदका अन्य कारणहरूमा कुटपिट, खान लगाउन नदिनु, कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी, वैदेशिक रोजगार गएका श्रीमान् वा श्रीमतीबीच बढ्दो अनमेल, महिलाहरू डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु र सम्पत्ति प्राप्तिमा लोभ हुनु रहेका छन्।

पपुलेसन मिडिया सेन्टरका आवासीय प्रतिनिधि राजन पराजुली कानुनमा २० वर्ष तोकिए पनि विवाह सम्बन्ध र शारीरिक आवश्यकताबीचको भिन्नता बुझाउन नसक्दा सम्वन्ध बिच्छेद नरोकिएको तर्क गर्नुहुन्छ।
महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक नेपालमा पछिल्लो ६ महिनामा सम्बन्ध बिच्छेदका ३८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दाहरू कानुनी प्रकृयाका अगाडि बढाइएका छन्। अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धका रूपमा लिँइदा सम्बन्ध बिच्छेद बढेको हो।

अधिवक्ता न्यौपाने थप्नुहुन्छ– ‘अहिले महिलाले कानुनी रूपमै सम्बन्ध बिच्छेद गर्न थालेपछि यस्ता घटना संख्या बढेको देखिएको हो। प्रेम विवाह र बालविवाह पनि यसको कारण हो।’

प्रतिक्रिया दिनुहोस्