महरा संघीय संसद्को पहिलो सभामुख



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा संघीय संसद्को पहिलो सभामुख बन्नुभएको छ। सभामुख पदका लागि शुक्रबार उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन हुनुभएको हो। यद्यपि संघीय संसद् सचिवालयले आज शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा मात्र यसको औपचारिक घोषणा गर्ने जनाएको छ। राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि महरा निर्विरोध सभामुख बन्नुभएको हो।

रविचन्द्र महरा र समुद्रदेवी महराका छोराका रूपमा २०१५ साल असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मेका महराले बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो। उहाँले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ।

महराले २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा दोस्रो वार्ता टोली सदस्यमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो। गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महराले संविधानसभा सदस्यको दुवै निर्वाचनमा निर्वाचित हुँदै संविधान निर्माणमा भूमिका खेल्नुभएको थियो। उहाँले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्यमा रहेर जिम्मेवारी सम्हाल्नुभएका महराले २०६९ सालमा माओवादी सातौं राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख, मध्यब्युरो इन्चार्ज बन्नुभएको थियो। उहाँ २०७१ सालमा पार्टीको महासचिव हुँदै २०७३ सालदेखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ।

उम्मेदवारी दर्ता गराएपछि महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरू बनाउनुपर्ने भएकाले सबै दलसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ रहनुभएको छ।

माओवादी केन्द्रको शुक्रबारै बसेको केन्द्रीय कार्यालयको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भनेर आफ्नो दलले उम्मेदवारी नदिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्