१९ दिनदेखि बन्द डोटी जिल्ला अस्पतालमा सेवा सुचारु

0
Shares

विमल विष्ट, डोटी
असुरक्षाको कारण देखाउँदै डाक्टरहरू काजमा गएपछि १९ दिनदेखि सेवा बन्द भएको डोटीको जिल्ला अस्पताल बल्ल खुलेको छ। अस्पतालमा डक्टरहरू फिर्ता भएसंगै यहाँको सेवा सुबिधा सबै सुचारु भएको जिल्ला अस्पताल डोटीका प्रमुख शतिष विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘काजमा विभाग गएका डाक्टरहरू सबै फिर्ता भए, स्वास्थ्यसम्बन्धी सबै सेवासुबिधा सुचारु भएको छ।’

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा अस्पतालका मेडिकल सुपरिटेन्डेनसहित चिकित्सकहरूले दोषीलाई कारबाही नभएसम्म काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका थिए। जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघको असुरक्षाको कारण देखाउँदै जिल्ला छाड्न भन्दै काठमाडौं आउन निर्देशन दिइएको थियो।

प्रदेशन. ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले चिकित्सकाहरूको सुरक्षाका लागि प्रदेशस्तरबाट कडा कानुन ल्याइने बताउनुभएको छ। डाक्टरमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेपछि सुरक्षाको माग गर्दै १९ दिन देखि बन्द रहेको डोटी जिल्ला अस्पतालमा सेवा सुचारु गर्ने क्रममा भएको छलफल कार्यक्रममा मन्त्री सोडारीले चिकित्सकहरूको संगठनसंग भएको सम्झौताका क्रममा कानुन फितलो भएको गुनासो आएको हुँदा प्रदेशस्तरबाट नै डाक्टरहरूको सुरक्षाका लागि कडा कानुन आवश्यक भएको कुरा औंल्याउनुभयो। मन्त्री सोडारीले भन्नुभयो– ‘दुर्गममा त्यसै पनि डाक्टर जान मान्दैनन् त्यसमा पनि असुरक्षा महशुस भयो भने कसरी स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ।’

चिकित्सकहरूको एसोसियसनसंग सम्झौता पनि भएको छ। डाक्टरको सुरक्षाका लागि कडा कानुन आवश्यक छ। सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले डोटी जिल्ला अस्पताल सिलगढीमा आफूसंगै डा. गिरिष अवस्थीमार्फत १९ दिन देखि बन्द रहेको चिकित्सकीय सेवा पुनः सुचारु गराउनुभएको हो। जिल्ला अस्पताल डोटीमा आयोजित छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख शतिष विष्टले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेका अन्य डाक्टरहरूलाई पनि जिल्ला ल्याउने प्रयास गरिरहेको बताउनुभयो। प्रमुख विष्टले भन्नुभयो– ‘चिकित्सकीय सेवाबाहेकका अन्य सेवा चालु नै थिए।’

हिजो शुक्रबारदेखि चिकित्सकीय सेवासमेत सुचारु भएको छ।’ छलफल कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक अनुज भट्टचन, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, नेकपा एमाले डोटीका जिल्ला कमिटी अध्यक्ष चक्र मल्ललगायतको उपस्थिति रहेको थियो। जिल्ला अस्पताल डोटी बन्द हुँदा सामान्य उपचारका लागि समेत सर्वसाधारणहरू महंगो मूल्य तिरेर निजी स्वास्थ्य संस्था धाउन बाध्य भएका थिए। स्थानीय तहमा समेत सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएको दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले बताउनुभयो।