खानीखोलामा पक्की पुल बनेपछि स्थानीयमा खुसीयाली

0
Shares

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ स्थित खानीखोलामा पक्की निर्माण सम्पन्न भएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा चार बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुल सम्पन्न भएको हो । करिब ५ करोड लागतमा खानीखोला र खैरेखोलाको पक्की पुल सञ्चालनमा आएका हो । खैरेखोलामा भने दुई बर्ष अघि नै पुल निर्माण भएर सञ्चालनमा आएको छ ।

निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती÷आषिश÷निलगिरी जेभीले आठ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता गरेपछि सुरुमा भौगोलिक कठिनाइएको कारण निर्माण सामाग्री ढुवानी गर्न सहज नभएको भन्दै निर्माण नगर्ने निष्कर्षमा पुगेको थियो । तर निर्माण गर्ने जिम्मेवारी पाएको कम्पनी मार्फत स्थानीय युवाहरुको सक्रियतामा पुल निर्माण सम्पन्न भएको छ ।

सुरुमा पुल निर्माण गर्नको लागि आर्थिक अभाव भएपछि स्थानीय युवा प्रेमकुमार श्रेष्ठले ५० लाख रुपैयाँ व्यक्तिगत रुपमा हालेर पुल निर्माणको काम सुरुवात गर्नुभएको थियो । श्रेष्ठसँगै गाउँका युवाहरु हिरा श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, पदम थापामगर लगायतले जोखिम मोलेर काम गर्दा नै पुल निर्माण गर्ने सपना पूरा भएको छ ।

स्थानीय प्रेम कुमार श्रेष्ठले जोखिम मोलेरै आफ्नो गाउँठाउँमा पुल निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सुरुमा पुलको योजना पर्ने नै कठिनाई भयो, योजना परेर टेन्डर पनि भयो तर छोटो समयमा पुल निर्माण गर्नुपर्ने सम्झौताको कारण कतै पुल निर्माण नहुने हो कि भन्ने त्रास थियो, हामीले निर्माण कम्पनी मार्फत पुल निर्माण गर्ने काम सम्पन्न गरेका छौं ।’

खानीखोलामा पुल नहुँदा बर्षाको समयमा कोही बिरामी भएको अवस्थामा बोकेरै सुनापति गाउँपालिकाको गाल्वा वा साँदीडाँडा र सिन्धुलीको नेपालथोकसम्म पु¥याउनु पर्ने बाँध्यता हटेको पुल निर्माणमा संलग्न स्थानीय हिरा श्रेष्ठले बताउनुभयो । पुल सञ्चालनमा आएपछि दोरम्बा र सुनापति गाउँपालिकाका तर्फका सडकको स्तरउन्ती पनि भएको छ । पुल सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तु निर्यातमा समेत सहज भएको श्रेष्ठले बताउनुभयो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पुल निर्माण भएपछि हिउद बर्षा नै सहज रुपमा यातायात सञ्चालन गर्ने गरी सडकको स्तरउन्तीको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयको केन्द्र, सदरमुकाम र राजधानी काठमाडौं जोडिएका सडकलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौ ।’ सडकको स्तरउन्तीसँगै खैरेनीघाट बेथान, साँडीडाँडा सक्षमचौतारी हुँदै दोरम्बा गाउँपालिकाको खोलाखर्कसम्मको सडक कालोपत्रे गर्नको लागि डिपिआर अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।