बुद्ध लामा पुरस्कार विवाद बारे एपी वानको स्पष्टीकरण (विज्ञप्ती)

0
Shares

काठमाडौँ । नेपाल आइडल बुद्ध लामाले पुरस्कार जितेको कार नपाएको भन्दै सार्वजनिक गुनासो गरेपछि एपी वान टेलिभिजनले यसबारेमा प्रतिक्रिया जनाएको छ ।

बिहिबार टेलिभिजनले बिज्ञप्ति जारी गरेर केही अनलाइहरुमा आएको समाचारहरुबारे खण्डन गरेको हो । आयोजक एपी वानले पुरस्कारको गाडी विजेता लामालाई दिईसकेको र अहिले पनि गाडी उनैसँग रहेको स्पष्ट पारेको छ ।

यस्तो छ एपी वानको विज्ञप्ती

केही अनलाईन पोर्टलहरुमा नेपाल आइडलसँग सम्बन्धित भ्रामक सामाग्री प्रकाशित गरे र गराईएकोमा नेपाल आइडलका आयोजक एपिवान एचडिको ध्यान आकृष्ट भएको छ र त्यसबारेमा स्पष्ट गर्न जरुरी ठानेका छौं ।

तोकिएको र सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगैछ । कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५५ (प्रतिशत) आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ । उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं ।

यसबाहेक विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको छ जसको भिडियो एपीवान एचडिले निर्माण गर्नेछ । हो, विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै भयो तर सम्झौताको एक वर्ष सकिनअगावै यो सम्पन्न हुनेछ ।

यसरी सम्झौता बमोजिमनै सम्पूर्ण कार्य हुदै आएको सबैको जानकारीका लागि अनुरोध छ । साथै वास्तविकता नबुझि दूरासयपूर्ण तवरमा प्रकाशित अनलाईन समाग्रीहरुबाट सचेत रहन आग्रह गर्दछौ । नेपाल आइडलको मंचमार्फत एक परिवाररसमूहबाट माथी उठदै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन त्यसमा एपिवान एचडिलाई गर्व छ किनकी यो एपिवान एचडिकै कारणले सम्भव भएको हो । बुद्ध लामालाई एपिवान एचडिका तर्फबाट भविष्यमा आउन लागेको उनको एल्बमका लागि शुभकामना ।

लामाको गुनासो

नेपाल आइडल लामाले आफूले पुरस्कार जितेको कार नभपाएको भन्दै गुनासो गरेपछि उनको अडियो सहित बिभिन्न अनलाइन मिडियाहरुमा समाचार प्रकाशन भएको थियो । नेपाल आइडल लामाले एपी वान टीभीले आफूलाई पुरस्कार दिने भनेको कारको कर स्वरुप आठ लाख रुपैँया मागेको बताएका थिए ।

उनले एउटा अडियो सार्वजनिक गर्दै भनेका छन्, “म ८ महिनादेखि आफूले पाएको पुरस्कारको लागि धाएको धाई छु, कति धाउनु । चेक दियो पैसा छैन । अब गाडीको लागि त्यत्रो ८/१० माग्दै छ । मै, करको लागि भन्दै त्यो त आयोजकले नै तिर्नु पर्ने है र ? अब मैले कहाँबाट ल्याउने त्यति ठूलो रकम ? अरु त मलाई केही थाहा छैन । मैले बोल्न हुन्छ या हुन्न त्यो पनि थाहा भएन ।’

बुद्धले पाएको कारको मूल्य नेपालमा करिब ३२ लाख रुपैयाँ पर्छ । जसको २५ प्रतिशत आकस्मिक लाभ कर करिव ८ लाख रुपैयाँ हुन आउँछ ।