म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकाय सुरु

0
Shares

प्रताप बानियाँ, म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबारदेखि स्नातकोत्तर तहको व्यवस्थापन संकायमा कक्षा सुरु भएको छ । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित व्यवस्थापन संकाय प्रथम समेस्टर कक्षाको औपचारिक उद्घाटन तथा कक्षा शुभारम्भ गरिएको हो ।

स्नातक तह उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको व्यवस्थापन संकायमा प्रथम समेस्टरको कक्षा सञ्चालन गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । स्नातकोत्तर तहको व्यवस्थापन विषयको कक्षा सुरु भएसँगै अबदेखि व्यवस्थापन विषयमा स्नातकोत्तर तह अध्ययन गर्नकै लागि भनेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी जिल्लामै स्नातकोत्तर तहमा अध्यापन सुरु गरिएको बताउनुभयो । उहाँले म्याग्दीको शैक्षिक क्षेत्रमा म्याग्दी बहुमुखी क्याम्पसले फड्को मारेको बताउँदै क्याम्पसमा आयोजना गरिएको महायज्ञको उद्देश्य अनुसार स्नातकोत्तर तह सञ्चालन गर्ने लक्ष्य पुरा भएको बताउनुभयो । स्नातकोत्तर तह अनुसन्धान गर्ने कक्षा समेत भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण सुवेदीले क्याम्पसको चौतर्फी विकासका लागि विद्यार्थी, प्राध्यापक, क्याम्पस प्रशासन र सञ्चालक समिति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा विद्यार्थीहरुको सहभागिता वृद्धि गरिने भन्दै उहाँले म्याग्दी जस्तो जिल्लामा स्नातकोत्तर तह सञ्चालन गर्नु निकै चुनौतीपूर्ण र बाध्यता पनि रहेको बताउनुभएको थियो । स्वतन्त्र विद्यार्थी युनियका सभापति सावित्रा खत्रीले म्याग्दी जिल्लामै स्नातकोत्तर तहको पढाई सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसलाई निरन्तरता दिन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

स्नातकोत्तर तहको प्रथम सेमेस्टरका लागि ४७ जना विद्यार्थीहरुको नाम निस्किएको छ भने हालसम्म २६ जना विद्यार्थीहरु भर्ना भैसकेको म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा आवश्यक स्रोतको व्यवस्थापन गरी स्नातकोत्तर तहमै एमए र एमएडको विषयको पढाइका लागि पनि पहल गरिने भएको छ ।

स्नातकोत्तर तहमा व्यवस्थापन विषयको पढाई सुरु गर्नका लागि क्याम्पस सञ्चालक समितिको गएको असार १३ गते बसेको वैठकले निर्णय गरेको थियो । त्यसपछि विभिन्न समयमा आवश्यक प्रक्रिया पुरा गरिसकेपछि त्रिभूवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत माघ १५ गते कक्षा सञ्चालनका लागि स्वीकृती दिएको थियो । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पढाई हुँदै आइरहेको छ भने करिब ९ सयजना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।