प्रदेश ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

0
Shares

काठमाडौं । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची प्रदेशसभा सचिवालयले सर्वजनिक गरेको छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायत कार्यसूची तयार पारिएको प्रदेश सचिवालयले जनाएको छ । यसका साथै फागुन २१ मा पेश भएको प्रदेश नियमावली पारित गर्ने कार्यसूची समेत आजको बैठकको छ ।

गुरुङ माघ २८ गते प्रदेश ४ मा नेकपा एमाले संसदीय दलका नेतामा निर्वाचित भएका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । उनले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको नियुक्ति लिएका थिए ।

प्रदेश ४ मा ६० जना प्रदेशसभा सदस्य छन् । विश्वासको मत लिन गुरुङले बहुमत अर्थात् ३१ मत प्राप्त गर्नुपर्छ । एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त देखिन्छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले व्यवस्था गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पारित गरेको आर्थिक कार्यविधि विधेयक पनि आज बस्ने संसद बैठकमा टेबल हुने बताइएको छ । संसद बैठकले कार्यविधि पारित गरेसँगै प्रदेशको बजेट ल्याउन बाटो खुल्नेछ ।

यसै गरी आर्थिक कार्यविधि विधेयक संसदमा टेबल भएर पारित भएपछि त्यही कानुनका आधारमा प्रदेशको पूरक बजेट ल्याउन बाटो खुल्नेछ ।