परम्परागत खेती छोड्दै अलैंचीतर्फ आकर्षण



नानीराम नेपाल, सिन्धुपाल्चोक

कुनै बेला दुःख गरी उब्जाएको अन्नपातले वर्षभरि पेट पाल्नै धौं–धौं। चोकटीकी गोपीनी गुरुङका लागि घर व्यवहार धान्नै मुस्किल थियो। तर, अहिले उहाँको जीवनशैली फेरिएको छ। परम्परागत खेती प्रणालीलाई छाड्दै व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेपछि उहाँलाई न पेट पाल्न मुस्किल छ, न त कुनै गर्जो टार्न नै गाह्रो छ।

अलैंचीबाट मनग्य आम्दानी गरी बचतसम्म गर्न सक्ने हुनुभएको छ। ‘व्यवहार धान्नै सकिँदैनथ्यो, दुःख गर्यो तर अन्नपातले खानै पुग्दैनथ्यो,’ अभावग्रस्त विगत सम्झिँदै उहाँ भन्नुहुन्छ–‘पैसा त अलैंचीमा पो रहेछ, हामी कादो रोपेर बस्यौं।’ गत वर्ष झण्डै चार सय किलोग्राम अलैंची उत्पादन र बिक्री गर्दा साढे दुई लाख रुपियाँ हात परेको उहाँले बताउनुभयो।

गोपिनी मात्र होइन, परम्परागत खेती प्रणालीलाई छाड्दै त्रिपुरा सुन्दरी गाउँपालिका–२ साविक चोकटीका अधिकांश स्थानीय नगदेवाली अलैंची खेतीमा आकर्षित देखिएका छन्। वर्षभरी नङ्ग्रा खियाउँदा पनि उब्जनी भएको अन्नपातले ६ महिनासम्म पनि नधान्ने भएपछि उनीहरू अलैचीप्रति आकर्षित भएका हुन्। थोरै लगानीबाट नै अलैंची खेती गर्न सकिने र मनग्य आम्दानी हुने भएपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्।‘लगानी धेरै नचाहिने, पाखाबारीमै रापेदिए पनि हुने,’ चोकटीकी अर्की स्थानीय स्वस्थानी गुरुङको भनाइ छ।

त्रिपुरासुन्दरी गाउँपालिका –२ चोकटीकी गीता भट्टराई आयआर्जनको आधार खोज्दै शहर पस्नुभएको थियो। केही वर्ष काठमाडौंमा कपडा सिलाउने काम गर्नुभयो। काठमाडौंमा वषैंसम्म कल घुमाउँदा आफ्नो जिन्दगीकै कल घुमेन उहाँको। अन्ततः गाउँ फर्किए अलैंची खेती शुरू गर्नुभयो। २०७० सालमा गाउँ फर्किएपछि अलैंची खेती शुरू गर्नुभएकी उहाँले यतिबेला घर नजिकैको बारीमा ५० हजार बोट अलैंची लगाउनु भएको छ। ‘विरुवा पनि तयार गर्छु, अलैंची खेती गर्न चाहनेले यहिँ आएर विरुवा लैजान्छन्,’ उहाँ भन्नुहुन्छ। अलैंचीलाई व्यावसायिक रूपमा खेती गरे वर्षमा चार लाख रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो।

अलैंचीले बजार नपाउला की भन्ने पीर चिन्ता छैन कृषकलाई। बजारको समस्या छैन। तर, भाउ अस्थिर हुँदा समस्या परेको कृषक बताउँछन्। बजारमा अलैंचीको माग बढिरहँदा यतिबेला भाउ भने घट्दो अवस्थामा छ। एक किलोग्राम अलैंचीको २४ सयसम्म बिक्री गरेका चोकटीबासी यतिबेला प्रतिकिलो ६ सयसम्म अलैंची बेच्नु परेको बताउँछन्। ‘कुनैबेला ९५ रुपियँँमै पनि बेचियो, कुनै वेला २४ सयसम्म पाइयो,’ स्थानीय अलैंची कृषक लालबहादुर थामी भन्नुहुन्छ्–‘अलैंचीमा घाटा छैन। तर, भाउ अस्थिर हुँदा समयमै बेच्न समस्या परिरहेको छ।’ केही वर्षअघि २ हजार प्रतिकिलोग्रामका दरमा बिक्री गरेका उनी अहिले भाउ घटेपछि उत्पादित अलैंची स्टक राख्नुपरेको बताउँछन्।

अलैंचीको पकेट क्षेत्र मानिएको चोकटीका किसानलाई आधुनिक अलैंची भट्टी वितरण गरिएको छ। चोकटीको बुंगाथलीस्थित महिला शान्ति कृषक समूहलाई ग्रामीण महिला सिर्जनशील परिवारले अलैंची सुकाउने आधुनिक प्रविधिको भट्टी प्रदान गरेको हो। उत्पादित अलैंचीको गुणस्तर कायम गर्दै स्थानीय किसानका जीवनस्तर सुधार गर्नका लागि व्यावसायिक अलैंची कृषकलाई आधुनिक भट्टी प्रदान गरिएको ग्रामीण महिला सिर्जनसीलद्धारा संचालित जिविकोपार्जन सुधार कार्यक्रमका संयोजक ओम तामाङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्