नारी दिवसमा महिलाले पुरुषलाई प्याड वितरण गरे

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिहीबार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा महिलाले पुरुषलाई महिलाले प्रयोग गर्ने प्याड वितरण गरे।

फ्रिडम फोरम, नेपाल वातारवण पत्रकार समूह, मेन एन्गेज एलायन्सलगायतका संस्थाहरूले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि पुरुषको जुलुस सम्पन्न गरेका छन्।

माइतीघर मण्डलामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, टंक पन्त, धमेन्द्र झालाई महिलाले प्रयोग गर्ने प्याड वितरण गरेर प्रारम्भ भएको कार्यक्रममा करिब ५ सय पुरुषलाई प्याड वितरण गरेको पत्रकार दुर्गा कार्कीले बताएकी छन्।
पुरुषले लिएको नेपाली हस्तकलाको माध्यमबाट निर्माण गरिएको राम्रो खालको प्याड घरमा श्रीमती, छोरी–बुहारी वा दिदी–बहिनीलाई दिनेछन्।
महिलाको सम्मानबाट मात्रै घर–परिवारको सम्मान हुन्छ र महिलाले भोग्नुपर्ने कतिपय समस्याका बारेमा पुरुष पनि उत्तिकै जानकार हुनुपर्छ र महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि पुरुषको सबैभन्दा प्रभावकारी भूमिका हुनुपर्छ भन्ने सन्देश दिनका लागि सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ।

सरकारले भृकृटीमण्डपमा जुलुससहित सभाको आयोजना गरेको थियो भने अखिल नेपाल महिला संघ, अखिल क्रान्तिकारीलगायतले बानेश्वरबाट जुलुसको आयोजना गरेका थिए भने वातावरण पत्रकार समूह, मेन एन्गेज एलायनस, फ्रिडम फोरमलगायतका नागरिक संगठनहरूले माइतीघरमा प्याड वितरण गरेर पुरुषको जुलुको आयोजना गरेका थिए। महिला एवं भर्खरका युवतीहरूले पुरुष एवं भर्खरका पुरुषहरूलाई लाज नमान्नुस् के भन्दै प्याड वितरण गरेको दृश्य रोचक र टिपिकल थियो।

प्याड वितरण गरेपछि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मन्तव्यसहित जुलुसको उद्घाटन गर्नुभएको थियो भने माइतीघरबाट शान्तिवाटिकामा पुगेको जुलुसको समापन मन्तव्यसहित पत्रकार टंक पन्तले गरेका थिए। कार्यक्रमको सहजीकरण पत्रकार दुर्गा कार्कीले गरेकी थिइन्।