आज १०८ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस, बिबिध कार्यक्रम गरी मनाइदै

0
Shares

काठमाडौं । आज १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

अन्तर्राष्ट्रिय स्तरमा ‘प्रेस फर प्रोग्रेस’ भन्ने नाराका साथमनाइदै छ भने, नेपालमा ‘संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ नाराका साथ दिवस मनाईंदैछ ।

नेपालको नयाँ संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौति भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

महिला दिवसका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकीछन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गरेका छन् ।

समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १०८ वर्ष पूरा भएको छ ।

सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।