‘दृष्टिविहीनलाई सगरमाथा चढ्न वञ्चित नगर्नू’



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले दृष्टिविहीनलाई सगरमाथा चढ्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ। दृष्टिविहीन अमित केसीको नामले चिनिने चित्रबहादुर खत्री क्षेत्रीले आफूलाई सरकारले गैरकानुनी र गैरसंवैधानिकरूपमा सगरमाथा चढ्नबाट वञ्चित गरेको भन्दै दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो। पर्वतारोहण नियमावलीमा रहेको शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिलाई हिमाल चढ्न नदिने गरी ल्याएको व्यवस्था खारेज गर्न माग गर्दै बाग्लुङ जयमुनी नगरपालिका–४ का दृष्टिविहीन केसीले मंगलबार मुद्दा दर्ता गराउनुभएको थियो।

आफ्नो दुवै आँखा गुमेको र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेको बेला पर्वतारोहण नियमावली बाधक बनेको उहाँको दाबी थियो। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्रशमशेर राणा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्