गणेश घिमिरे, इलाम । आउँदो शैक्षिक सत्रबाट इलामका थप चारवटा बिद्यालयमा रेडपाण्डा सम्बन्धि ‘वातावरण संरक्षण शिक्षा’ बिषयमा पढाई हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षण गर्ने मुख्य उद्येश्यका साथ यस बिषयको पढाई जिल्लाका तीनवटा बिद्यालयमा गत शैक्षिक सत्रबाट नै सुरु भइसकेको छ ।
रेडपाण्डा संरक्षणको क्षेत्रमा सन् २००७ देखि मेचीका तीन पहाडी जिल्लामा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पुस्तक तयार पारेको हो । गत शैक्षिक सत्रबाट जमुनाको राष्ट्रिय निमावि, प्याङको प्याङ मावि र माइमझुवाको स्याम्बल माविमा ‘वातावरण संरक्षण शिक्षा’ बिषयको पढाई सुरु भइसकेको छ ।
अब आउँदो शैक्षिक सत्रबाट माइपोखरीको चन्द्रोदय निमावि, पुवामझुवाको बाल्मिकि निमावि, जोगमाईको ज्ञानोदय मावि र माबुको प्रबोध माविमा पढाई सञ्चालन गरीने नेटवर्क इलामका फिल्ड प्राबिधिक फिञ्जु शेर्पाले बताए ।
सो बिषयको पढाई कक्षा ६ र ७ मा समावेश छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई कार्यक्षेत्र काम गर्दै आएको नेटवर्कले पाँचथर र ताप्लेजुङको एक/एकवटा बिद्यालयमा गत शैक्षिक सत्रबाट र आउँदो शैक्षिक सत्रबाट पाँचथरका दश र ताप्लेजुङ्गको ११ वटा बिद्यालयमा सो बिषयको पढाई सञ्चालन गर्ने नेटवर्कले जनाएको छ ।
स्थानीय विषयवस्तु समेटेर तयार पारिएको एकसय पूर्णाङ्कको पाठ्यपुस्तक रेडपाण्डा पाइने क्षेत्रका विद्यालयहरू पढाइ हुन थालेको हो । रेडपाण्डा नेटवर्कले जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर कक्षा ६ र ७ का लागि ‘वातावरण संरक्षण शिक्षा’ पाठ्यपुस्तक तयार गरेको शेर्पाले बताए । उनले भने ‘विद्यालयस्तरबाटै बातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारीएको हो ।’
वातावरण संरक्षण शिक्षा बिषयको कक्षा ६ मा रेडपाण्डा, रेडपाण्डाका लागि संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, रेडपाण्डा–मानव र वन्यजन्तु बीचको द्वन्द्व र न्यूनीकरण, पर्यटन लगायतका बिषयबस्तु समेटीएको छ भने, कक्षा ७ को पुस्तकमा जैविक विविधता, जैविक विविधता संरक्षणसम्बन्धी ऐन कानुन, प्राकृतिक स्रोतमा आधारित जिविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन लगायतका शीर्षकहरू समावेश छन् ।
नेटवर्कले इलामका साबिकका माबु, माइमझुवा, जमुना, माइपोखरी, प्याङ, जोगमाई, गोर्खे र पुवामझुवा गाबिसमा समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी ठाउँहरुमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा पाइन्छ ।
यो कार्यक्रम सुरु नहुँदा रेडपाण्डाको चोरी तस्करी अत्यधिक हुने गरेको र जंगली जनावरको आक्रमणबाट यसको अवस्था संकटमा पर्दै गएको थियो । तर नेटवर्कले रेडपाण्डा संरक्षण सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि चोरी तस्करी ९० प्रतिशत नियन्त्रणमा आएको संस्थाको दाबि छ ।
‘यो कार्यक्रमबाट स्थानीय समुदायमा सचेतना जगाउनेदेखि लिएर बिद्यालय स्तरमा रुट एण्ड सुट्स कमिटी गठन गरी संरक्षणको काम भइरहेको छ’ शेर्पा भन्छन् ‘रेडपाण्डा पाइने सामुदायिक बनहरुमा संरक्षणको कामहरु हुन थालेपछि रेडपाण्डाका साथै बिभिन्न जंगली जनावर र चराचुरुङगी हेर्न आन्तरीक र बाह्य पर्यटकको भीड पनि बढ्दो क्रममा छ ।’ यसैलाई मध्यनजर गरेर नेटवर्ककै आर्थिक सहयोगमा जमुना, मावु र गोर्खेका पाँच÷पाँचवटा घरमा होमस्टे सञ्चालन गरीएको शेर्पाले बताए ।
यसैक्रममा नेटवर्कले सन् २०१८ मा रेडपाण्डा संरक्षणका लागि इलाममा मात्र ५८ लाख रुपैंयाँ बजेट छुटयाएको छ । सो बजेटबाट प्रकृति पथ प्रदर्शक तालिमदेखि लिएर जमुना, जोगमाई, गोर्खे र माबुको सामुदायिक बनहरुमा रेडपाण्डा आहारा प्रजातिको नर्सरी, निर्माण, गोर्खे र जमुनामा रहेको सामुदायिक बनको दश हेक्टरमा बृक्षारोपण लगायतका कार्यक्रमहरु राखेको बताएको छ ।
रेडपाण्डा नेटवर्कको तथ्याङ्क अनुसार इलाममा ३५ देखि ४० वटाको सङख्यामा रेडपाण्डा छ भने इलाम सहित चर र ताप्लेजुङ्गमा गरी दुईसयवटाको हाराहारीमा रहेको जनाएको छ । नेटवर्कले अब मेचीका तीन पहाडी जिल्ला सहित देशका सोह« जिल्लामा रेडपाण्डा संरक्षण सम्बन्धि कार्यक्रम गर्ने भएको छ । रेडपाण्डा देशका २६ जिल्लामा पाइने एक अध्ययनले देखाएको छ ।











प्रतिक्रिया