राष्ट्रपतिको मनोनयन आज, विद्या भण्डारी पुनः दोहोरिने

0
Shares

काठमाडौं । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुने भएकाे छ । फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदाताको अन्तिम सूची मंगलबारै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी आठ सय ८० मतदाता रहेकामा ४ सदस्यको नाम मतदाता सूचीमा छैन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राई सर्वोच्च अदालतको अन्तरिम आदेशले शपथ रोकिएका कारण मतदाता हुन नपाउे भएकाछन् । यसै गरी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) लाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले सजाय सुनाएपछि कानुनतः निलम्बित छन् । प्रतिनिधिसभा सदस्य रेशम चौधरीको नाम मतदाता सूचीमा भए पनि उनी पुर्पक्षका लागि थुनामा छन् ।

नेकपा एमालेको मंगलबार वालुवाटारमा बसेको स्थायी समिति बैठकले वाम गठबन्धनका तर्फबाट पुनः विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । वाम गठबन्धनले राष्ट्रपतिमा पुनः भण्डारीलाई उम्मेदवार बनाए नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार खडा गर्ने बताएको छ । राष्ट्रपति भण्डारीले उम्मेदवारी दिने पक्का भएसँगै कांग्रेसले लक्ष्मी राई र मान बहादुर विश्वकर्मा मध्येबाट एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।