पत्रकारितामा लैङ्गिक संवेदनशीलताको खाँचो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । महिला विरुद्ध हुने विभेद अन्त्यका लागि पत्रकारितामा लैङ्गिक संवेदनशीलताको खाँचो एक कार्यक्रमका वक्ताहरुले व्यक्त औल्याएका छन् ।

१ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकारितामा लैङ्गिक संवेदनशीलता विषय अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो खाँचो औल्याएका छन् ।

लैङ्गिक विभेद अन्त्यका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने भएकोले लैङ्गिक संवेदनशीलताको विषयमा सञ्चारमाध्यम उदाहरण भएर निस्किनुपर्ने पनि उनीहरुको जोड रहेको छ ।

सो अवसरमा विषयमाथि केन्द्रीत हुँदै नेपाल भाषाको दैनिक पत्रिका नेपाल भाषा टाइम्सका सम्पादक एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले अरु क्षेत्रलाई जवाफदेही बनाउने सञ्चारमाध्यम स्वंयले लैङ्गिक संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमाध्यममा महिलाको समाचारले कम मात्र स्थान पाउने गरेको उल्लेख गर्दै सम्पादक मानन्धरले महिलाको समाचार बनेपनि दुव्र्यवहार, बलात्कार र घरेलु हिंसाको समाचार मात्र बन्ने गरेको उल्लेख गर्दै महिलाका राम्रा समाचारहरुले अपेक्षाकृत स्थान नपाएको बताउनुभयो ।
समाचार लेख्ने क्रममा महिला स्रोतहरुलाई आवश्यकता अनुसार प्रयोग गर्दा फरक तथ्य र महिलाका दृष्टिकोणहरुले पनि समाचारमा स्थान पाउने पनि उहाँको भनाई रहेको छ । लैङ्गिक संवेदनशीलता पुरुष पत्रकारहरुमा पनि हुनुपर्दछ ।

‘यसले समाचारको अन्र्तवस्तु र कार्यस्थलमा लैङ्गिक मैत्री वातावरण तयार गर्न सहयोगी भूमिका निर्वाह गर्ने छ । ’सम्पादक मानन्धरले भन्नुभयो ।

राससका पूर्व महाप्रबन्धक एवं क्रियाशील महिला पत्रकार मञ्चका उपाध्यक्ष निर्मला तुलाधर आचार्यले महिलालाई हेर्ने सामाजिक दृष्टि र बुझाईसंगै पेशागत संवेदनशीलता नबुझ्दा पत्रकारितामा प्रवेशसंगै छोडेर जाने महिलाहरुको संख्या उतिकै रहेको जानकारी दिनुभयो ।‘
‘घर परिवार र बालबच्चा हुर्काउनुपर्ने कारणले गर्दा पनि पत्रकारिता पेशा छोड्ने महिलाहरु संख्या बढी रहेको छ । यसले गर्दा महिला पत्रकारहरु बारे घरपरिवार र कार्यस्थलमा संवेदनशीलताको खाँचो रहेको छ । ’ उपाध्यक्ष आचार्यले भन्नुभयो ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले महिलाको विषयको समाचारलाई पुरुषको दृष्टिले नभई महिलाको दृष्टि, महिलालाई पार्ने प्रभाव विषयमा पत्रकारहरु पनि संवेनशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक एवं रेडियो नेपालका समाचारवाचिका रचना श्रेष्ठले विभिन्न सञ्चारमाध्यममा महिला पत्रकार मैत्री संरचना र व्यवहार नभएको उल्लेख गर्दै सञ्चार संस्था, प्रकाशन र सम्पादकहरुले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु उपस्थिति सो अन्र्तक्रिया कार्यक्रममा रेडियो नेपालका सञ्चारकर्मी चन्दा विष्टले महिलाहरुलाई चरित्र हत्यासंग जोडेर मनोबल कमजोर पार्ने खेल जुनसुकै पेशामा पनि हुने गरेको चर्चा गर्दै यसको अन्त्यका लागि लैङ्गिक संवेदनशीलताको खाँचो औल्याउँनुभयो । आर्थिक सुनिश्चितता नभएकोले पनि महिलाहरु पत्रकारितामा टिक्न नसकेको उहाँको कथन रहेको छ ।