पन्ध्र शैयाको सामुदायिक अस्पतालको सम्पूर्ण सेवा बन्द

0
Shares

गणेश घिमिरे, इलाम । इलामनगरपालिकामा करीब बाह« वर्षअघि स्थापना भएको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द भएको छ । इलाम नगरपालिका वडा नम्बर ८ सिङफ्रिङ्गमा रहेको सो अस्पताल आर्थिक, दक्ष चिकित्सक र बिरामी अभावको कारण बन्द भएको हो ।

स्थापना भएको करीब पाँचबर्षसम्म निकै राम्रोसम्म सञ्चालन भएको सो अस्पताल बिगत एकहप्तादेखि पूर्ण रुपमा बन्द भएको हो । हिमालयन हेल्थ केयर काठमाडौँद्वारा सञ्चालित अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल बिगत चार÷पाँचबर्ष अघिबाटै सुनसान बन्दै गएको थियो । स्वास्थ्य सेवाको पहुुँचबाट टाढा रहेका बिरामीलाई सस्तो र भरपर्दो सेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको अस्पतालमा बिरामी नआएपछि त्यहाँ कार्यरत कर्मचारी घाम तापेर बस्न बाध्य थिए ।

२०६१ सालमा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल ल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको सामुदायिक अस्पतालको रुपमा स्वीकृत भएको थियो । ‘सञ्चालन भएको पाँच÷छ बर्षसम्म २४ सैँ घन्टा बिरामीको चापाचाप हुन्थ्यो’ अस्पतालका पूर्व कर्मचारी रविन रायाले भने ‘तर बिस्तारै–बिस्तारै चिकित्सकको अभाव, बिरामी भर्ना अत्यन्त न्यून हुँदा अहिले सेवा नै बन्द हुन पुगेको छ ।’

अस्पताल स्थापनापछि २०६६ सालसम्म बहिरङ्ग, अन्तरङ्ग, साधारण ए–क्सरे, भिडियो एसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका थिए । सामुदायिक अस्पतालको अवस्था दिनदिनै नाजुक भएपछि यहाँका स्थानीय निकाय, स्थानीयवासी तथा सरोकारवालाको सहयोग नपाएको भन्दै कर्मचारीले गुनासो पोख्दै आएका थिए । अस्पताल सञ्चालनका लागि गठन भएको ब्यबस्थापन समिति पनि राजनीतिक हानथापका कारण निस्क्रिय बनेको थियो ।

हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आएपनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो । अस्पताल सञ्चालन गर्न वार्षिक रुपमा ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

संस्थाले पूर्वी पहाडी जिल्लाका जनताका लागि न्यून शुल्कमा सेवा पु¥याउनका लागि अस्पतालन सञ्चालन गरेको थियो । लामो समयदेखि अस्पताल सुनसान बनिरहेको थियो । सो समयमा अस्पतालले संस्थाको सहयोगमा जिल्लाका बिभिन्न गाउँहरुमा स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । अहिले अस्पतालमा रहेको एम्बुलेन्स पनि काम नलाग्ने गरी बिग्रिएर थन्किएको छ ।

अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अस्पतालको सेवा पुन सञ्चालन गर्नका लागि सरोकारवाला निकायहरुसंग समन्वय तथा पहल भइरहेको अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताए । उनले भने ‘अस्पताल पूर्ण रुपमा बन्द भएको छैन, अस्पतालले दिने सम्पूर्ण स्वास्थ्य सेवा मात्र बन्द भएको हो ।’ अस्पतालमा एकजना मेडिकल अधिकृत सहित २५ जना कर्मचारी कार्यरत थिए ।

तर अहिले अस्पतालले ६÷७ जना कर्मचारी मात्र राखेर अन्यलाई बिदा दिएको छ । अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिनहरु बेकामे बन्ने अवस्थामा पुगेको छ । सो अस्पताल इलाम सदरमुकामदेखि करिब डेढ किमी दुरीमा पर्दछ ।