ज्यानमारा सडक

0
Shares

विमल विष्ट, डोटी । धुलो,हिलो र साघुरा भएका कारण डोटीका ग्रामिण सडकहरु बर्सेनी ज्यानमारा बन्दै गएका छन् । बिना नाप नक्सा तथा डोजर अपरेटरको सनकको भरमा काटीएका यहाँका ग्रामिण सडकमा बर्षेनी दुर्घटना भईरहदा सयौ स्थानियको अकालमै ज्यान जान थालेको छ । २०७१ साल असोज २१ गते डोटीकै जोरायलमा एउटै दुर्घटनाले ३१ जनाको ज्यान लियो ५९ जना घाईते भए ।

२०७२ चैत ३० गते डोटी जिजोडामाण्डौ गाविसमा जिप दुर्घटना भयो । जुन दुर्घटनामा परि पद्म कन्या क्याम्पसका प्रध्यापक डा. जयराज पन्त लगायत ९ जनाको ज्यान गयो । त्यसैगरी २०७४ साल साउनमा डोटीको गगुडामा जिप दुर्घटना भयो त्यहाँ एउटै गाउँमा ९ जनाको ज्यान गयो । प्रहरी अनुसन्धानले कच्ची र भिरालो बाटो भएका कारण दुर्घटना भएको देखायो ।

सरकारद्धारा गठित छानविन समितिले साघुरो बाटोमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक ग¥यो । बानेडंग्रीसैन–जिजोडामाण्डौ, बुडर–जोरायल, दिपायल–चवराचौतरा सडक सवारी संचालन अनुमती समेत नपाएका सडक हुन । यी ३ वटा सडक र दुर्घटना उदारण मात्रै हुन ।

प्रदेश नं ७ का ग्रामिण सडकहरु मध्य धेरैले अस्थायी अनुमती सम्म पाएका छैनन् । यातायात संचालनको अनुमती नपाएका सडकमा गुड्ने सवारीहरुले जोखिम नै बढाएको छ । यी सडकहरुले मापदण्ड पुरा समेत पुरा गरेका छैनन् । मापदण्ड पुरा नगरेका सडकमा चल्ने सवारीहरु नै बढी यात्रु ओर्साने गरेका छन् भने दुर्घटना पछि घाईते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको शैलेश्वरी यातायात ब्यावसायी डोटीका अध्यक्ष गणेश मलासीले बताउनु भयो ।

सवारी संचालनको अनुमती नपाएका सडकमा दुर्घटना भएमा राहत तथा क्षेतीपूर्ती उपलब्ध गराउन समस्या हुन्छ । प्रदेश नं ७ अधिकांस ग्रामिण तथा मुख्य सडकहरु नै सवारी संचालनको अनुमती पाएका छैनन् । तोकिएको मापदण्ड पुरा नगरेका सडकमा सवारी संचालनको अनुमती हुदैन तर यहाँको प्रशासनले राजनितिक र जनताको दवावका कारण सवारी चलाउन दिएको बताउँदै आएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले भन्नु भयो, गाउँमा बाटो पुगेपछि सवारी संचालनको माग आउँछ ।

माग पुरा नगरे जनताको दवाव समेत आउने भएकाले संचालन गर्न कतै अस्थायी अनुमती दिईन्छ । अहिले डोटीको सहजपुर–बोगटान सडक, कैलालीको सहजपुर–निगाली सडक, बुडर–जोरायल सडकमा सवारी संचालनको अनुमती छैन । डडेलधुराको बुडर–जोगबुढा सडक,बाजुराको तिपडा–मार्तडी सडकको अस्थायी अनुमती भएपनि बाँकी ग्रामिण सडकहरुमा सवारी संचालनको अनुमती नै छैन ।

कुल १ सय ३३ जना ट्राफिक दरवन्दी रहेको प्रदेश ७ मा विदा काज गरी १ सय २० जना दैनिक चेकजाँचमा हुन्छन् । जो अत्यन्त न्यून जनशक्ति हो । पछिल्लो तथ्यांक अनुसार प्रदेश ७ मा रुटपरमिट भएको ४ हजार ७ सय ३ किलोमिटरमा दैनिक सवैखाले गरी २७ हजार बढी मोटर गुड्ने गर्छन् । जसमध्ये ८ सय ९३ कालोपत्रे सडक रहेको छ भने १४ सय ९४ ग्राभेल र २३ सय १६ किलोमिटर कच्ची सडक रहेको छ । सडक बिस्तार संगै दुर्घटनामा पनि निकै बृद्धि भएको छ । हिसाव गर्दा एउटा ट्राफिकलाइ ५० किलोमिटर सडक भागमा पर्छ ।

प्रतिदिन एउटा ट्राफिकले सरदर ५ सय ८ गाडी चेकजाँच गर्नुपर्ने बाध्यता रहेको छ । ७ नम्बर प्रदेशमा बढ्दै गएको दुर्घटनाले सडक सवारी साधनको यात्रालाई असुरक्षित सावित गर्न थालेको छ । बर्षेनी सवारी दुर्घटना बढी रहेका भएपनि त्यसलाई न्यूनिकरण गर्न सकिएको छैन । दुर्घटनाको बेला मात्रै तात्ने सरोकारवाला निकायहरुले त्यसको कारण पहिलाउन सकेको छैन । जसका कारण दुर्घटना घटाउन सकिएको छैन । २०७३ साउन १ गते देखि २०७४ फागुन १९ गते सम्म मात्रै प्रदेश नं ७ मा सवारी दुर्घटनामा परि २ सय २४ जनाको ज्यान गएको छ । सोही अवधीमा ५ सय ८४ जना घाईते तथा अंगभंग भएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका तथांक शाखाका प्रमुख प्रहरी हवल्दार बिष्णु धामीका अनुसार २ सय ७७ वटा सवारी दुर्घटना भएका छन् । उहाँले दुर्घटना पहिलेको तुलनामा बृद्धि भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यस प्रदेशमा फागुनको दुई साता भित्र मात्रै ११ वटा दुर्घटना भएका छन् भने ११ जनाको मृत्यू भएको छ ।’

बढेको सडक दुर्घटनाको श्रङ्गखला रोकिएको छैन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख जयसिंह विष्टले भन्नु भयो, सवारी दुर्घटना बढ्नुमा जिर्ण सडक, भौगोलिक कारण,यान्त्रीक कारण र मानविय कारण गरी तिनवटा कारण रहेका छन् ।’ उहाँले सडकको अवस्थामा सुधार गरेमा,सडक नालि निर्माण गरेमा,चेतावनी मूलक चिन्हहरु निर्माण गरेमा र रात्री सेवालाई निरुत्साहित र दिवा सेवालाई प्रोत्साहान गरेमा दुर्घटनामा कमी ल्याउन सकिने बताउनु भयो ।