सँधै सदरमुकाम पुगेर पाउने सेवा घरमै पाए स्थानीयले

0
Shares

धनवीर दाहाल, रुकुम । सरकारी स्तरबाट पाइने सेवा लिनका लागी सँधै सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएपछि रुकुम पुर्वका बासिन्दा उत्साहित भएका छन् ।

रुकुम जिल्ला एउटै हुँदा तत्कालिन अवस्थामा सदरमुकाम मुसिकोट पुग्ने गरेका सेवाग्राहीले यतिबेला सबै किसिमको सेवा घरमै पाइन थालेपछि साँच्चीकै केन्द्रको अधिकार गाँउ आउन थालेको अनुभुति भएको बताएका छन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नं २ ले संचालन गरेको एक हप्ते एकीकृत कार्यक्रमले स्थानीयहरुलाई यस्तो अनुभुति दिलाएको हो ।

सहिद सप्ताहको अबसर पारी गत १५ गतेबाट एक हप्ते एकीकृत कार्यक्रममा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन, सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिकलाई सम्मान तथा वलाङकेट वितरण, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र तरकारी बीउ वितरण कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रम अन्र्तगत ११ जना सहिद परिबारलाई घरमै गएर अभिनन्दन गरिएको छ ।

त्यस्तै ५३ जना जेष्ठ नागरिक र दलित जेष्ठ नागरिकलाई अभिनन्दन तथा बलांकेट बितरण गरिएको छ । त्यस्तैगरी ५३ जना जेष्ठ नागरिक, १५ जना दलित जेष्ठ नागरिक, २९ जना एकल महिला, ३६ जना दलित बालबालिका र ६ जना अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । त्यस्तै शिविर मार्फत जेष्ठ नागरिक र अन्य गरी १ सय ३५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ भने ३९ जनालाई औषधि उपचार गरिएको छ । २ सय ९५ घरधुरीलाई भने ९ प्रकारका बिउ बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

२ नम्बर वडाका नायगाड, सुद्री, दत्कुना, तुवाङ, खरिबोट, किँदा, छिपखोला लगाएतका टोल र लक्षित समुदायको घरघरमा पुगी सेवा दिइएको हो । वडाको भौगोलिक विकटतालाई मध्यनजर गर्दै वडा कार्यालयले प्रवाह गर्ने सेवालाई जतिसक्दो सहज बनाउने तथा सहिद परिबार संग भेटघाट गर्ने उदेश्यले एकीकृत कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष जिवन केसी, वडा सदस्य आस्था बिक, सिस्ने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर केसी, कृषि जेटिए शक्ति केसी, वडा कार्यालय सहायक कृष्ण खड्का लगाएतको सहभागीता रहेको थियो ।

वडा अध्यक्ष केसीले सहिद सप्ताहको अबसरमा एकीकृत कार्यक्रम बनायर वडाका विभिन्न टोल र घर घर सम्म पुगेर सेवा पुर्याएको बताउनुभयो । उहाँका अनुसार निर्वाचित भैसकेपछि पहिलोपटक सामाजिक सुरक्षा भत्ता वितरण टोल र घर घर सम्म पुगेर लक्षित समुदाय अर्थात व्यक्ति लाई वितरण गरिएको हो ।

दुर्गम बस्ति र भौगोलिक विकटताले गर्दा जेष्ठ नागरिक लगायत लक्षित समुदाय र आम जनतालाई सास्ती हुने र सम्बन्धित व्यक्तिलाई नभई दोस्रो व्यक्तिलाई भत्ता वा कुनै पनि चिज दिँदा सम्वन्धित पक्षले नपाई फरक काममा समेत प्रयोग हुन सक्ने सम्भावना भएको र विभिन्न कार्यालय बाट पाउने सेवा सुबिधा समेत कार्यालय वरिपरिका व्यक्ति र समुदायले मात्र पाउने तथा दुर दराजका व्यक्तिहरु सेवा लिन बाट बञ्चित हुने अबस्था समेत हुने भयकोले पुरानो परिपाटी लाई अन्त गरेर कार्यालय मुखी सेवा प्रवाह र हाकिम मुखि कार्यशैली लाई अन्त्य गरेर जति सक्दो सहज र सरल ढंगले जनपक्षिय र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उदेश्यले सञ्चालन गरियको वडा अध्यक्ष के.सीले बताउनुभयो ।