कामले गति नलिँदै सडक कालोपत्रेको म्याद गुज्रियो

0
Shares

रामधन राई, खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रको कामले गति नलिँदै सम्झौताको म्याद गुज्रिएको छ ।जिल्लासदरमुकाम दिक्तेलबजारदेखि भोजपुरसँगको सिमानामा पर्ने चखेवा भञ्ज्याङ सडक कालोपत्रेको कामले गति नलिँदै सम्झौता मिति सकिएको हो ।

ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले एक अर्ब ९ करोड १९ लाखको लागतमा २ बर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी२०७२ सालमासडक बिभागसँग सम्झौता गरेका थिए । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण राष्ट्रिय गौरबको सडक कालोपत्रेको कामले तीब्रता लिन नसकेको स्थानीयको गुनासो छ ।

नेपाल सरकारले घरजग्गाको मुआब्जादिने ब्यवस्था नहुनका साथै दक्ष तथा सीपयुक्त जनशक्तिको अभाब, भुकम्पको प्रभाब लगायतका समस्याले गर्दा कामलाई तीब्रता दिन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

टेलफोन तथा बिद्युतको पोल नसारेको, सडक किनारका घर–टहरा नभत्काईदिएकोले काममा ढिलाई भएको बताउने कम्पनीले कालोपत्रेको लागि आवश्यक गुणस्तरीय निर्माण सामाग्री नपाईनाले पनि काममा अवरोध भएको जनाएका छन् । हाल सव बेशको काम भईरहेको सडक कालोपत्रे प्रक्रियाको लागि सबै खाले कामदारको अभाव रहेकोकम्पनीको साईड ईन्चार्ज साङगे शेर्पाले बताउनुभयो ।

८८ किलोमटिर लम्बाई रहेको उक्त सडकखण्ड कालोपत्रेको लागि ४ खण्डमा बिभाजन गरी निर्माण सम्झौता गरिएको थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै सडक कालोपत्रेको प्रक्रिया पूरा भएको साईड ईन्चार्ज शेर्पाको भनाई छ ।

एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा सम्झौता बमोजिम काम सम्पन्न गर्ने अवधि सकिएको छ । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध पक्षले जनाएको छ ।

सबै प्याकेजमा पेटी ठेक्का दिएकाले गुणस्तर नभएको स्थानीयको गुनासो छ । सडकको सब बेसमा प्रयोग गरिएको गिटी गुणस्तर नहुनुका साथै पर्खालमा प्रयोग गरिएका सिमेन्टमा समेत मात्र नमिलाइएको भन्दैस्थानीयले चासो देखाएका छन् ।

गुणस्तर नभएको बारेमा सम्वन्धित निर्माण कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि नटेरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।

सबै काम पूरा गर्नको लागि अझै दुई बर्ष लाग्ने निर्माण कम्पनीले स्पष्ट पारेका छन् ।