सिंगारु नाच संरक्षणः बृद्धबृद्धादेखी युवा युवतीको अभियान

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुमको मौलिक परम्पराको रुपमा रहेको सिंगारु नाच लोप हुन सक्ने खतरा बढेको भन्दै रुकुममा बृद्धबृद्धादेखी युवा युवति सम्मले संयुक्त सिंगारु नाच संरक्षण अभियान संचालन गरेका छन् ।

मुसिकोट नगरपालिकाको अगुवाईमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले यस्तो अभियानको औपचारिक सरुवात गरेको छ । मुसिकोटबाट थालिएको यो अभियान रुकुमका सबै स्थानीय तहमा गरिने बताइएको छ । लोप हुनै लागेको रुकुमको संस्कृतिलाई संरक्षण र प्रर्बद्धन गर्नका लागी रुकुममा पहिलो पटक सिंगारु नाच प्रतियोगिताको आयोजना गरिएको हो ।

बिभिन्न मेलापात तथा दशैं तिहारमा मात्र बिरलै नाचिने सिंगारु नाचको संरक्षण गर्नका लागी मुसिकोट नगरपालिका लगाएतका निकायको सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम शाखाले सो प्रतियोगिता आयोजना गरेको हो । बढ्दै गएको आधुनिकीकरणले गर्दा सिंगारु नाच लोप हुन सक्ने भन्दै त्यसको जर्गेनाको लागी यो कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अमित परियारले बताउनुभयो । रुकुमका गाँउ बस्तीहरुमा अहिले पनि यसको संरक्षण गर्नुपर्ने आवाज सबत्र उठ्न थालेको छ ।

स्थानिय भाषामा गाइने गितका शब्दहरुमा प्राय माया प्रितीका कुरा समेटिएको हुन्छ । बन पाखाहरुमा घाँस दाउरा गर्दा गाइने यस्ता गितहरु यतिबेला संरक्षणको पर्खाईमा छन् । पुराना संस्कृतिको संरक्षण गर्नका लागी सबै जुट्नुपर्नेमा युवाहरुको पनि जोड छ । यति मात्र होइन रुकुमका पैंसेरी, मयुर नाचहरु पनि लोप हुँदै गएको भन्दै चिन्ता बढ्न थालेको छ । यसको संरक्षणको लागी हरेक बर्ष बिभिन्न प्रतियोगिताहरु संचालन हुने सचिव तुलबहादुर देवकोटाको भनाई छ । यसै गरी जिल्लाका लुकेर रहेका संस्कृतिलाई राष्ट्रियकरण गर्ने र संरक्षणमा राज्यको ध्यान आर्कषणका लागी पनि यो प्रतियोगिताले झन उचाई थप्ने प्रतिष्ठानका उपाध्यक्ष पुर्णचन्द्र के.सीले बताउनुभयो ।

मुसिकोट नगरपालिका भित्रका १४ समुहले भाग लिएका थिए । प्रतियोगिताको रुपमा संचालन गरिएपनि यसको तात्पर्य भनेको रुकुमको मौलिक संस्कृतिको रक्षा गर्नु रहेको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो । प्रतियोगितामा मुसिकोट नगरपालिका वडा नं २ को समुह प्रथम, वडा नं १३ को समुह द्धितिय, र वडा नं १ को समुह तृतिय भएका थिए । प्रतियोगितामा प्रथमलाई २० हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । पुरस्कृतलाई मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले पुरस्कार र प्रमाण पत्र बितरण गर्नुभएको थियो ।