प्रतिनिधिसभाको पहिलो बैठक

0
Shares

काठमाडौँ ।  प्रतिनिधिसभाको पहिलो ऐतिहासिक अधिवेशन सोमबार सुरु भएको छ।

संविधानमा रहेको व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको पहिलो अधिवेशन सोमबार दिउँसो ४ बजे सुरु भएको छ। संविधानसभा भवनको रुपमा प्रयोग गरिएको नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।

प्रतिनिधिसभा निर्वाचन भएको तीन महिनापछि संसद अधिवेशन सुरु भएको हो।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् ।

संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उनीहरुले शपथ लिएका हुन् । निर्धारित कार्यक्रम बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्र ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक र स्वतन्त्र एक सांसद छन् । प्रतिनिधिसभाको निर्वाचन गएको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

केही कानूनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ ।