सर्वोच्चका सबै इजलाश स्थगित



काठमाडौं । सर्वोच्च अदालतले सोमबारका लागि तोकिएका सबै मुद्दाको इजलाश स्थगित गरेको छ। सर्वोच्चका पूर्वन्यायाशीध रामनगिना सिंहको शोकमा इजलाश स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

सिंहको आइतबार निधन भएको थियो। उनी २०५८ देखि २०६३ सम्म सर्वोच्चमा न्यायाधीश थिए। सोमबार न्यायाधीशहरुको फुलकोर्टको बैठक बस्दै इजलाश स्थगित भएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए। यसअघि पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन हुँदा अदालत एक दिनका लागि बिदा दिइएको थियो।

प्रधानन्यायाधीशको निधन हुँदा बिदा दिने र न्यायाधीशको निधनमा इजलाश मात्र स्थगित गर्ने परम्परा अनुसार सोमबार इजलाश स्थगित गरिएको हो।

सोमबार तोकिएका सबै पेशी मंगलबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। आज राष्ट्रियसभाका तीन सदस्य र कान्तिपुरविरुद्धको मुद्दा सुनुवाइको तयारी भइरहेको थियो। उक्त मुद्दा अर्को दिनका लागि पेशी तोकिनेछ। बयानका लागि कान्तिपुरको टोली बिहान १० बजे नै सर्वोच्च पुगिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्