संघीय संसदको पहिलो बैठक आज, सांसदहरु उत्साहित



काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरे । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई संसदहरुले ऐतिहासिक अवसरका रुपमा लिएका छन् । संवैधानिक अस्पष्टताका कारण निर्वाचन सकिएको लामो समयसम्म संसदको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजे संसद भवनभित्र रहेका छुट्टा छुट्टै हलमा बस्नेछ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने छन् । संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसदको आह्वान गरिएको पत्र पढेर सुनाइने छ ।

संघीय संसदको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ । ‘संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न सक्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आज पहिलो अधिवेशन भएकाले शहीदहरुको सम्मानमा मौनधारण गरी प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइने कार्यक्रम छ । त्यसपछि दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत हुन्छ र त्यसलाई पारित गरिन्छ ।

प्रतिनिधिसभाले सभामुख र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची छ । फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको जनाइएको छ । फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुपर्ने छ ।

दुवै सदनले बैठक सञ्चालनको लागि अध्यक्ष मण्डल चयन गर्ने कार्यसूची तय गरेको सचिवालयले जनाएको छ । जेष्ठ सदस्य, सभामुख वा अध्यक्ष कुनै कारणबस अनुपस्थित भएमा अध्यक्ष मण्डलका सदस्यबाट बैठक सञ्चालन गरिन्छ । यस अतिरिक्त दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने तयारी समेत रहेको संसद सचिवालयले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्