सार्क सम्मेलनको माहोल बनाउन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै



नेपाल समाचारपत्र, काठमाडौं
पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका शिलसिलामा सोमबार नेपाल आउँदै हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकमना दिन आउने अब्बासीले ओली सहित अन्य शीर्ष दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । ‘प्रधानमन्त्री नेपाल आउने निधो भएको छ, भ्रमणको विस्तृत कार्यतालिका शुक्रवार अवेरसम्ममा आइसक्छ’–काठमाडौं स्थित पाकिस्तानी दूतावासका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

अवरुद्ध दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्न उहाँको भ्रमण केन्द्रित हुने ती अधिकारीले बताए । यही वर्ष (सन् २०१८) भित्र आफ्नो मुलुकमा सार्क सम्मेलन सम्पन्न गराउने प्रयास स्वरुप प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । यस अघि सन् २०१६ नोभेम्बर ९ र १० तारिखका लागि पाकिस्तानमा तय भएको सार्कको १९ औं सम्मेलन भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित भएको थियो । १९ औं सम्मेलनका लागि आफ्नो मुलुक प्रतिवद्ध रहेको पाकिस्तानले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्