बोक्सी आरोपमा कुटपिट घटनामा प्रहरीद्वारा ठाडो उजुरी दर्ता

0
Shares

सञ्जय कार्की, रौतहट। बोक्सिको आरोप लगाउदै छिमेकी एक दम्पति लाई कुटपिट गर्ने पीडक लाई रौतहट प्रहरीले पक्राउ गरी रिहा गरेको खुल्न आएको छ । कुटिएका दम्पतिको भने जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ ।

घाईते दुबैजनाको शरीरको भित्री भागमा गम्भिर चोटपटक लागेकाले चिकित्सकको निगरानीमा उपचार भईरहेको र उनीहरुको अवस्था अझै गम्भिर रहेको गौर अस्पतालका अहेव पंकज ठाकुरले बताउनु भयो ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं ५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र उनको श्रीमान रामस्वरुप ठाकुर हजाम लाइ बोक्सिको आरोप लगाउदै चरम यातना सहित कुटपिट गर्ने स्थानीय धर्मेन्द्र राय यादव, उनकै भाई सुनिल राय यादव र मुकेस राय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी रिहा गरेको खुल्न आएको छ ।

पीडक यादव दाजुभाईले पीडित कान्तीदेवी र उनका श्रीमान रामस्वरुप ठाकुर हजामलाई बोक्सिको आरोप लगाउदै मरणासन्न हुने गरी कुटपिट गरेका हुन । उनीहरुले तेरो श्रीमती बोक्सी भएको र हाम्रा बालबच्चा बीरामी पारेका भन्दै उनीहरुले कुटपिट गरेको पीडितहरुले बताएका छन । बोक्सिको आरोपमा कुटिएका महिलाले जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय रौतहट जादा प्रहरीले ठाडो उजुरी मात्र दर्ता गरी पीडक लाई उन्मुक्ति दिएको खुलेको हो ।

पीडितहरुको घाउ जाँच केश फारामको लागि प्रहरीले निवेदन दर्ता गरेपनि उक्त निवेदनमा बोक्सीको आरोपमा कुटपिट गरेको लेखिएपनि अनुसन्धाननै नगरिकन प्रहरीले पीडक लाई रिहा गरेको आरोप रहेको छ आरोपितहरुलाई । प्रहरीले गिरफतार गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएकोमा कुनै कार्वाही नगरी छाडेपछि हामी झनै असुरक्षित भएका छौं पीडित रामस्वरुप ठाकुरले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बोक्सीको आरोप कुटपिट गर्ने आरोपितहरुले उन्मुक्ति नपाउने संचारकर्मी लाई बताउनु भयो ।