इच्छाविपरीत रंग र लोला हान्नेलाई कारबाही

0
Shares

विमल विष्ट, डोटी । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न डोटी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग लगाउने, फोहर पानी छ्याप्ने, विपरीतलिंगी वा यात्रीलाई दुःख दिनेलगायतका कार्य रोक्न विशेष सुरक्षा योजना ल्याएको हो ।

होली पर्व सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन र अनियन्त्रित कार्य गर्नेलाई नियन्त्रणमा लिन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको डोटी प्रहरी प्रबक्त तथा प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले बताउनु भयो ।

त्यस्तै मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न डोटी प्रहरीले बिषेश रणनीति अपनाइएको प्रबक्ता सिंहले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘अपराधिक गतिबिधि हुन नदिन बिषेश प्रहरी शुरक्षा ब्यबस्था मिलाएका छौ,अपराध गर्न खोजे कुनै हालतमा माफी हुने छैन् ।’ होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालन बजार क्षेत्रमा विशेष सुरक्षा सेवा राखिने गस्ती टोली परिचालन गरिने, बजारका बिभिन्न स्थानमा ट्राफिक प्रहरी सहितको विशेष जाँच गरिने र सूचना संकलनका लागि सादा पोशाकका प्रहरीलाई बजार क्षेत्रमा परिचालन गरिने योजना प्रहरीले बनाएको छ ।

होली पर्वमा मादक पदार्थ सेवन गरेर उश्रृङखल गतिविधि गर्नेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रबक्ता सिंहले बताउनु भयो । यसवर्षको होली यही फागुन १७ गते पहाडमा र १८ गते तराईमा मनाइने भएको छ ।