डोटीमा शिबलिङ्ग गुफा भेटियो

0
Shares

विमल विष्ट, डोटी । डोटीको आदर्श गाउँपालिका–२ कालिकास्थान साउनकाँडाको गिठागौणा जङ्गलमा शिबलिङ्ग भएको गुफा फेला परेको छ ।

स्थानियबासीहरु गोठालो जादा उक्त गुफा फेला परेको हो । गुफा भित्र शिबलिंग लगायतका बिभिन्न देबी देउताहरुका मुर्ति आकारका अन्य तस्विरहरु पनि रहेको स्थानिय बासी तथा आदर्श गाउँपालिका–२ का अध्यक्ष प्रेमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नु भयो ‘बाहिर हेर्दा सामान्य जस्तै गुफा मात्र देखिन्छ भित्र हेर्दा शिबलिंग सहित बिभिन्न देबी देउताका मुर्ति आकारका अन्य तस्विर पनि रहेका छन् ।’ उहाँका अनुसार अहिले उक्त गुफा हेर्नेको दिनहुँ जसो भिड लाग्ने गरेको छ ।

गुफाभित्र शिवलिङ्ग, पार्वती, गणेश, हात्तीको सुँड र नागका आकृतीहरु रहेको स्थानियबासीहरु बताउछन् । गुफालाई त्यहाँका स्थानियबासीले ‘शिवशक्ती गुफा’को नाम दिदै स्थानिय मानबहादुर खड्काको अध्यक्षतामा गुफा संरक्षण समिति समेत गठन गरिएको छ । स्थानियका अनुसार गुफा भित्र पनि अझै धेरै लामो गुफा भएकाले यो गुफा कति लामो छ भन्ने एकिन गर्न सकिएको छैन ।

गुफाभित्र अध्यारो रहेकाले उज्यालो बालेर मात्रै पस्न सकिने र कुनै भागमा फराकिलो तथा कुनै भागमा साँघुरो भाग रहेकाले पूरैभित्र पस्न नसकिने गुफा संरक्षण समितिका खड्काले बताउनु भयो । उहाँले भन्नुभयो ‘करिब ३५ मिटर भित्रसम्म गुफाभित्र पसेको छु, त्यो भन्दाभित्र अध्यारो भएकाले पस्न सकिन अझै कतिलामो गुफा छ भन्न सकिन्न ।’

गुफाभित्र रहेको शिवलिङ्गको माथिबाट नियमित रुपमा पानी खसेको दृष्य देख्न सकिने स्थानीयबासीहरु बताउछन् । गुफा कति वर्ष पूरानो हो, लम्बाई कति छ, गुफाको ऐतिहासिक, पौराणिक महत्व के हो ? भन्ने बारेमा कुनै किसिमको जानकारी नभएकाले आगामी दिनमा त्यसका बारेमा अध्ययन, अनुसन्धान गरिने आदर्श गाउँपालिका–२ का अध्यक्ष प्रेमबहादुर बोहराले बताउनु भयो ।

चालु आर्थिक बर्षमा पनि गुफाको संरक्षणका लागि एक लाख रकम वडाबाट छुट्याइएको र व्यक्तिगत रुपमा ५० हजार बराबरको आठ सय मिटर खानेपानी पाइप गुफा संरक्षण समितिलाई सहयोग गरेको वडा अध्यक्ष बोहराले बताउनु भयो । गुफाको बारेमा हालसालै मात्रै जानकारी पाइएको र चालु आर्थिक बर्षको बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाबाटै सहयोग गर्ने आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनु भयो ।

गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्व रहेकाले यसको प्रचार–प्रसार, संरक्षण, संवद्र्धनमा आफू लागिपर्ने अध्यक्ष रोकायाले बताउनु भयो ।