स्थानीय तहहरुको काममा प्रतिस्पर्धा

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुमका स्थानीय तहहरुले संबिधानले दिएको अधिकारको प्रयोग गर्दै कामलाई तिब्रता दिएका छन् । सात वटा स्थानीय तह रहेको रुकुम पश्चिममा एकले अर्काको काम हेर्दै प्रतिस्पर्धा गर्न थालेका छन् ।

आठबिसकोट नगरपालिकाले १४ वटै वडामा डिजिटल हाजिर प्रणाली लागु गरेको छ । जिल्लाको सबै भन्दा दुर्गम नगरपालिका मानिएपनि प्रबिधिको हिसावले सबै भन्दा पहिलो भएको छ । कर्मचारीको काममा प्रभावकारिता ल्याउनको लागी र सेवा छिटो छरितो बनाउनका लागी नगरपालिकाका सबै वडामा डिजिटल हाजिरको व्यवस्था गरिएको र सिसि क्यामरा पनि जडान गर्न लागिएको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के.सीले बताउनुभयो ।

नगरपालिकामा रहेका १४ वटै बिद्यालयमा पनि शिक्षकका लागी डिजिटल हाजिरको व्यवस्था भएको नगरप्रमुख गोरखबहादुर के.सीले जानकारी दिनुभयो । यसै गरी सबै बिद्यालयमा सिसि क्यामरा जडान गरिने पनि उहाँले बताउनुभयो । त्यसको लागी आबश्यक सामान खरिद गर्ने काम भइरहेको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

यसै गरी आठबिसकोट नगरपालिकाले सम्पतिमा समान पुहँच स्थापना गर्नका लागी संयुक्त लालपुर्जा प्रदान गर्ने अभियान सुरु गरेको छ । नेपाल जनजागरण मञ्च रुकुम र आठबिसकोट नगरपालिकाले सो अभियान सुरु गरेका हुन् ।

जग्गाधनी एक जना मात्र रहने परम्परालाई तोड्दै नगरपालिकाले घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्नका लागि संयुक्त लालपुर्जा बितरण सुरु गरेपछि स्थानीयमा खुसी छाएको छ । सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गा धनी लालपूर्जाको मान्यता दिए पनि रुकुममा भने पहिलोपटक श्रीमानको नाममा भएको जग्गा श्रीमान र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टेसन गरिएको हो ।

यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टेसन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गा धनी पूर्जा बनाएका थिएनन् । संयुक्त लालपुर्जाका बितरण यो अभियानसँगै आठबिसकोट नगरपालिकाले अझै पनि महिलाहरुलाई थप प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने नगरप्रमुख गोरखबहादुर के.सीले बताउनुभयो ।

सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउनका लागि आठविसकोट नगरपालिका र नेपाल जनजागरण मञ्चले थालेको अभियानमा स्थानीय स्तरमा गठन भएका महिला समुहले साथ दिएका छन् । यस्तै मुसिकोट नगरपालिकाले आधारभुत तह (कक्षा ८)को परिक्षा संञ्चालन सम्बन्धी कार्यबिधी २०७४ स्वीकृत गर्ने, माध्यामिक तहसम्मको शिक्षालाई अनिबार्य निशुल्क गराउन यसै शैक्षिक सत्रदेखि बिद्यार्थीको परिक्षा शुल्क पूर्ण रुपमा मिनाहा गर्ने र त्यसका लागि लाग्ने शुल्क नगरपालिकाबाट ब्यहोर्ने लगायतका निर्णयहरु गरेको छ ।

सँस्कृति तथा पर्यटन प्रर्बद्धनका लागि पनि आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो । यस्तै चौरजहारी नगरपालिकाले पनि बिभिन्न बिधयहरु पास गरेको छ ।
नगर बैठकले शिक्षा विधेयक , कृषि विधेयक , सडक विधेयक , स्वास्थ्य विधेयक , खानेपानी विधेयक , सहकारी विधेयक , विपद ब्यवस्थापन विधेयक , बजार अनुगमन विधेयक र रेडियो सञ्चालन विधेयक पारित गरेको छ । पारित भएका विधेयकहरु छिट्टै प्रमाणिकरण हुने र प्रमाणिकरण भइसकेपछि मात्रै कार्यन्वयन हुने नगरप्रमुख बिशाल शर्माले बताउनुभयो ।

नगर सभाको बैठकले पारित गरेका विधेयकहरु समाजवाद उन्मुख र जनता मुखि भएकोले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने संयोजक उहाँको बिश्वास छ । यसै गरी बाँफिकोट गाँउपालिका, त्रिबेणी गाँउपालिका र सानीभेरी गाँउपालिकाले पनि आफुले पाएका अधिकार प्रयोग गर्दै स्थानीय स्तरमा गर्ने काममा तिब्रता दिएका छन् ।