वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

0
Shares

चितवन । भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी विभिन्न ५ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

अस्पताल प्रशासनले पदपूर्ति सम्बन्धि मौजुदा व्यवस्थामा संशोधन गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका हुन् । अस्पतालको प्रशासन भवनमा कालो ब्यानर टाँगेर कर्मचारीहरुले बिरोध जनाएका छन् ।

कर्मचारीहरुले आर्थिक तथा नीतिगत भ्रष्टचारको अन्त्य गर्नुपर्ने, बिरामीको सेवामा प्रयोग हुने मेशिन तथा उपकरणहरु तुरुन्त सुचारु गर्नुपर्ने, एकै तहको बढुवामा न्यूनतम योग्यता कायम गर्नुपर्ने, प्रशासन सेवाको पाँचौ तहको असमान पदपूर्ति व्यवस्था खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रचलित नियम विपरित गरिएका समायोजन र तुरुन्तै खोलिएको बढुवा तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

कर्मचारी रमेशकान्त पौडेलले माग तत्काल पुरा नभए कडा आन्दोलनमा उत्रिने बताए । अस्पताल प्रशासन र कर्मचारीबीचको मंगलबार भएको छलफल विना निश्कर्षा टुंगिएको पौडेलको भनाइ छ ।