विभागीयको उपाधि भिडन्त


नेपाल समाचारपत्र
हेटांैडा
तेस्रो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोलीले लैजाने पक्का छ।

उपाधिका लागि आज नेपाल पुलिस क्लबले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो वर्षको पराजयको पीडालाई शक्तिमा बदल्दै दोस्रो संस्करणमा उत्रिएको आर्मीले खुसी मनाएको थियो।
विभागीय डर्बीमा उपाधि कसले उचाल्छ भन्नेमा सबैको ध्यान छ। आर्मी र पुलिसको नकाउट फुटबलमा यो पहिलो भेट हो भने राष्ट्रिय खेलकुद परिषद्ले गरेको राखेप च्याम्पियनसिपमा भने पुलिसले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो।

गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार सीएमजी संकटालाई २–० ले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो। मनाङ मस्र्याङ्दी क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो। जर्जप्रिन्स कार्कीले अन्तिम मिनेटमा गरेको गोलले आर्मी फाइनलमा पुग्न सफल भएको हो।

घरेलु फुटबलमा आर्मी निकै लयमा छ। पछिल्लो समय आर्मी एकपछि अर्को उपाधि उचाल्दै उत्कृष्ट फर्ममा देखिँदा पुलिस भने छायामा थियो। आफ्ना पुुराना खेलाडी भेट्रान्स भएपछि पुलिस युवा टोलीसहित विस्तारै मोफसलमा हुने नकाउट फुटबलमा फर्किंदै छ।

यस वर्ष गज्जबको फुटबल खेलिरहेको आर्मी र पछिल्लो समय लयमा देखिएको पुलिस क्लबबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिन्छ। हालसम्म आर्मीले निर्धारित समयमा २ गोल गरेको छ भने १ गोल खाएको छ। पुलिसले ५ गोल गरेको छ भने गोल खाएको छैन। गणितीय आधारमा हेर्ने हो भने आर्मीभन्दा पुलिस यस प्रतियोगितामा बलियो देखिन्छ। तर, यस वर्ष आर्मी मोफसलमा भएका ५ वटा गोल्डकप आफ्नो पक्षमा पार्दै पहिलो नम्बरको क्लबका रूपमा उभिएको छ।
पुलिसले एउटा प्रतियोगिता यस वर्ष आफ्नो नाममा गरिसकेको छ। त्यसको पछिल्लो उदाहरण पोखरामा आयोजित १६औं संस्करणको आहा रारा गोल्डकप उचाल्नु हो। युवा टोलीले पोखरामा थ्री स्टारलाई पराजित गर्दै आहाको संस्करण आफ्नो नाममा लेखाएर सिजनको पहिलो नकाउट फुटबल प्रतियोगिताको उपाधि उचाल्यो। पुलिसको नकाउट फुटबलको दोस्रो उपाधि नजिक छ।

आर्मी क्लबका कप्तान भरत खवासले चोटका बाबजुद मैदानमा छन्। सुदूरपश्चिमविरुद्ध क्वार्टरफाइनलमा उनको टाउकोमा चोट लागेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बल चेस गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किँदा चोट लागेको थियो। उनी, नवयुग र जर्जप्रिन्स कार्की आदिबाट आर्मीले निकै आश गरेको छ।

पुलिसका निरकुमार राई, सुमन लामा र अभिषेक रिजाल मुख्य खेलाडी हुन्। प्रतियोगितामा पुलिसका कप्तान हेम तामाङ र तेज तामाङले उत्कृष्ट खेल खेलिरहेका छन्। आर्मीका डिफेन्डर विमल पाण्डे र गोलरक्षक विकेश कुथु पनि कम छैनन्।