शेयर बजारको पुँजी सवा १६ खर्बमा झर्यो


नेपाल समाचारपत्र
काठमाडौं
यससाता नेप्से परिसूचक ३३ दशमलव ९७ अंकले घटेको छ। अघिल्लो साता ३३ दशमलव ९२ अंकले बढेको नेप्से यससाता कारोबार भएको चारै दिन ओरालो लाग्दा नसुधारिएको हो।

यससाता पहिलो दिन १ हजार ४ सय २४ दशमलव ९५ को विन्दुबाट शुरू भएको नेप्से अन्तिम दिन १ हजार ३ सय ८६ दशमलव ९८ को बिन्दूमा पुगेर रोकिएको हो।

परिसूचक घट्दा यससाता कारोबार रकम भने बढेको छ। यससाता नेप्सेमा १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सो क्रममा नेप्सेमा १ सय ७६ कम्पनीका ४२ लाख ४८ हजार ७ सय ३० कित्ता शेयर किनबेच भए। सातभरि कूल १८ हजार ६ सय ४ कारोबार भए।

कारोबार रकम चारै दिन कारोबार भएको अघिल्लो सातभन्दा १० दशमलव ७५ प्रतिशत कम हो। अघिल्लो साता बजारमा १ सय ७९ कम्पनीका ३७ लाख ९२ हजार कित्ता शेयर १ अर्ब ५४ करोड १४ लाख २५ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) करिब ४४ अर्ब ३७ करोड रुपियाँले घटेको छ। यस साता बजार पुँजीकरण १६ खर्ब ६६ अर्ब ३९ करोड रुपियाँबाट घटेर १६ खर्ब २२ अर्ब २ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ५ दशमलव ९१ अंकले बढेर २ सय ९३ दशमलव २५ अंकमा आइपुगेको छ।गतसाता कारोबारमा आएका सबै समूहमा गिरावट आए। तीमध्ये बीमा समूह सबैभन्दा धेरै २ सय ८९ दशमलव ६८ अंकले घट्यो।

त्यसैगरी लघुवित्त, विकास बैंक र जलविद्युत् समूहमा क्रमशः ६६ दशमलव २१, ४९ दशमलव २९ र ९१ दशमलव २६ अंकको गिरावट आउँदा बैंकिङ, उत्पादनमूलक र होटल समूहमा पनि क्रमशः २७ दशमलव ४९, ८ दशमलव ३१ र ६५ दशमलव शून्य ५ अंकले ओरालो लागे। त्यस्तै ट्रेडिङ समूह ३ दशमलव शून्य ४ अंक, वित्त समूह १६ दशमलव ३३ र अन्य समूह ११ दशमलव शून्य ९ अंकले घटे।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयर अग्रस्थानमा रह्यो। कम्पनीका कूल ११ करोड २० लाख ६० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो। यस साता काराबार भएको शेयर संख्याको आधारमा पनि सेन्चुरी कमर्सियल बैंक ३ लाख ६४ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक १ हजार १ सय २१ वटा कारोबारसहित शीर्षस्थानमा रह्यो। कारोबार रकमका आधारमा ८ करोड रुपियाँसहित ओम डेभलपमेन्ट बैंक दोस्रो स्थानमा रह्यो। सर्वाधिक कारोबार हुने शिर्ष ५ कम्पनीमा सेन्चुरी कमर्सियल बैंक, राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयर र सानिमा बैंक पनि अटाए।

यस साता नेप्सेमा सानिमा इक्विटी फन्डका १३ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भए।