सुनकोशीका डुङ्गा व्यवसायी संकटमा



 

ज्ञानमणि नेपाल, काभ्रे

काभे्र र सिन्धुपाल्चोक जिल्लाको सीमाना दोलालघाटस्थित सुनकोशी र इन्द्रावती नदीमा वर्षौंदेखि डुङ्गा खियाएर जीविका चलाउँदै आएका व्यवसायीहरू अहिले संकटमा पर्न थालेका छन्।

दोलालघाटमा पछिल्ला दिनमा पर्यटकको संख्या घट्दै गएको र नदीमा पक्की झोलुङ्गा पुलको निर्माण संख्या बढ्दै गएका कारण डुङ्गा चढ्नेहरू कम भएपछि यहाँका डुङ्गा व्यवसायी संकटमा पर्न थालेका हुन्। पहिले–पहिले यहाँ डुङ्गा चढ्न आउनेहरूको भीड नै लाग्ने भए पनि अहिले शून्य भएको स्थानीय व्यवसायीहरू गुनासो गर्छन्। छिमेकी गाउँहरू भीमटार, सापिङ्ग, सिरुबारी तथा कोशीपारीका करिब २० परिवार अहिले पनि प्रत्यक्षरूपमा यस व्यवसायमा संलग्न रहँदै आएका छन्। दिनभरि कुर्दा पनि कहिले त सय रुपियाँ कमाउन पनि मुस्किल पर्ने गरेको सुनकोशी किनारामा यात्रीहरूको प्रतीक्षामा रहेका स्थानीय व्यवसायी भक्तबहादुर माझीले बताए। प्रायःजसो शनिबार भने पिकनिक आउनेहरूको संख्या बढ्ने भएका कारण त्यो दिन अरू दिनको तुलनामा केही राम्रो कमाइ हुने गरेको उनको भनाइ छ।

दोलालघाटमा यस व्यवसायबाट पहिलेजस्तो कमाइ हुन छोडेपछि यसमा संलग्नमध्ये धेरैले पेसा नै छोडिसकेका छन्। पेसा छोडे पनि उनीहरूका लागि वैकल्पिक काम नभएकाले धेरैजसो बेरोजगार भएका छन्। पेसा अँगाल्दै आएकाको पनि आफ्नै समस्या छ। डुङ्गा बनाउनका लागि सिमलको रूख आवश्यक पर्ने र यस्ता रूखहरूलाई सरकारले कटानमा प्रतिबन्ध लगाएका कारण पनि डुङ्गा व्यवसायीहरूलाई समस्या उत्पन्न भएको केहीको भनाइ छ। ‘अहिलेभन्दा करिब १५ वर्षअगाडि यहाँ डुङ्गा चढ्न आउनेहरूको ठूलै भीड लाग्ने गरेको थियो’, पहिलेको कुरा सम्झदै भक्तबहादुर भन्छन्– ‘अब हाम्रा पुस्ताका लागि डुङ्गा भनेको एकादेशको कथाजस्तो हुने सम्भावना बढेकोप्रति हामीलाई दुःख लागेको छ।’ आफूहरूको व्यवसायलाई संरक्षणका लागि कसैले सहयोग नगरेको उनले गुनासो गरे।

यहाँ डुङ्गा चढेको व्यवसायीहरूले प्रतिव्यक्ति ३० देखि ५० रुपियाँसम्म लिने गरेका छन्। नदी किनारमा डुङ्गा चलाउन उपयुक्त वातावरण मिले पनि व्यवसाय खस्किँदै गएपछि उनीहरूमा एकातिर आर्थिक संकट छँदैछ भने अर्कातिर परिवार कसरी पाल्ने भन्ने चिन्ता पनि थपिएको छ। ‘काम गर्न जाउँ भने कमाइ कम आउँछ,नजाउँ भने अर्को वैकल्पिक काम छैन, कसरी जीविका चलाउने?’ अर्का व्यवसायी वीरबहादुर माझी भन्छन्– ‘हामी त अब भोकै मर्ने बेला आएको छ।’ दोलालघाटमा पछिल्ला दिनहरूमा माछा व्यवसाय संकटमा परेजस्तै डुङ्गा व्यवसाय पनि संकटमा परेकोप्रति उनी चिन्तित देखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्