प्रदेश ५ को मुख्य मन्त्रीमा एमाले नेता पोखरेलको दावी प्रस्तुत



यमलाल भुसाल, बुटवल ।

पाँच नम्बर प्रदेशको मुख्य मन्त्री नियुक्तिकालागि एकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख समक्ष दावी पेस गरेका छन् ।

दुई पार्टीको सहमति अनुसार एमालेका ४१ सांसद र माओवादी केन्द्रका २० सांसद गरी ६१ जनाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता
शंकर पोखरेललाई मुख्य मन्त्रीको दावी पेस गरिएको हो ।

आईतबार दिउँसो साढे १२ बजे नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले हस्ताक्षर गरेको दावी पत्र प्रदेश प्रमुख उमाकान्त झालाई बुझाईएको हो ।

उक्त पत्रमा दुबै राजनीतिक दलले प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्री पदकालागि समर्थन गर्ने निर्णय गरेको हुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्य मन्त्री नियुक्तिको प्रकृया अंगाडी बढाउनु हुन अनुरोध गरिएको उल्लेख छ ।

पाँच नम्बर प्रदेशमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरेका छैनन् । प्रदेश सभाको कुल सदस्य संख्या ८७ रहेकोमा ४१ सदस्य रहेको एमाले र २० सदस्य रहेको माओवादी केन्द्र गरी ६१ सदस्यको पोखरेललाई समर्थन रहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

दुई दल बिच आईतबार नै भएको बैठकले तत्काल बन्ने प्रदेश सरकार सानो बनाउने तर त्यसमा दुई मन्त्री एमालेलाई तथा एक मन्त्री माओवादी केन्द्रलाई बाडपफाड गरिएको माओवादी केन्द्रका नेता पुनले बताउनु भयो । त्यस्तै माओवादी केन्द्रको बैठकले संसदीय दलको नेतामा कुलप्रसाद केसीलाई चयन गरेको थियो ।

दावी पेस गरेपछि मुख्य मन्त्रीमा दावी गर्नुभएका एमाले संसदीय दलका नेता पोखरेलले संबैधानिक व्यबस्था अनुसार मुख्य मन्त्रीमा दावी प्रस्तुत गरिएको प्रतिक्रिया दिनुभयो ।

मुख्य मन्त्रीको दावी पत्र बुझ्दै प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक व्यबस्था अनुसार मुख्य मन्त्रीको नियुक्ति गर्ने प्रकृया अंगाडी बढाउने बताउनु भयो ।

नेपालको संविधान अनुसार निर्वाचनको मत परिणाम सार्वजनिक सएको मितिले ३० दिन भित्र मुख्य मन्त्री नियुक्ति गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार आगामी फागनु ३ गने भित्र मुख्य मन्त्रि नियुक्ति गरिसक्नुपर्नेछ ।

मुख्य मन्त्री नियुक्ति पछि सपथ ग्रहणकालागि समेत डिभिजन सडक कार्यालय परिसरमा तयारीका काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्