राष्ट्रपति मुनलाई उत्तर कोरिया भ्रमणको निम्तो


सोल, (एजेन्सी)
हाल हिउँदे ओलम्पिक्समा भाग लिने क्रममा दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणासहितको प्रस्ताव पेश गरेको छ। प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उत्तर कोरियाको संसद्का प्रमुख तथा त्यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिने किम योङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुनलाई भ्रमणका लागि शनिबार आमन्त्रण गरेका हुन्।

उत्तर कोरियाली टोली र दक्षिण कोरियाका राष्ट्रपतिबीच हिजो दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसमा उच्चस्तरीय भेटवार्ता भएको हो। सो औपचारिक वार्ताको दौरान उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी तथा उत्तरको पोलिटब्युरोका वरिष्ठ अधिकारी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किमको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन्।

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेकी जोङले हस्तान्तरण गरेको उक्त पत्रमा दुई कोरियाली सम्बन्ध सुधार्न चाहेको बेहोरा उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले पत्रकारहरूलाई जानकारी दिएका छन्। सर्वोच्च नेता किमले यथाशीघ्र राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएकी थिइन्।

राष्ट्रपति मुन र भ्रमण टोलीका बीचमा अचानक अनौपचारिक कुराकानी शुरू भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको प्रस्ताव राखेकी थिइन्। शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया गएको उत्तर कोरियाको प्रतिनिधि मण्डलमा रहेकी भएकी जोङ सत्तारूढ दल वर्कर्स पार्टी कोरियाको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक हुन्। किम जोङ उनले उनलाई केही समयअघि मात्र राजनीतिक पदोन्नति गरेका थिए।
सन् २००९ पछि उत्तर कोरियाका तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ। उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा शुरू भएको शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो। यस टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

राष्ट्रपति मुनले उत्तरको विवादास्पद आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको कारण दुई कोरियाबीच उत्पन्न भएको तनावलाई उत्तरको यस भ्रमणले साम्य पार्ने विश्वास व्यक्त गरेका थिए। दक्षिण कोरिया र अन्तर्राष्ट्रिय सञ्चार जगत्ले उत्तर कोरियाको यस कदमलाई निकै महत्वपुर्ण घटनाको रूपमा हेरिरहेका छन्।

तर शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिण कोरियाली राष्ट्रपति मुनले सम्मान स्वरूप दिएको रात्रिभोजमा उत्तर कोरियाका राष्ट्र प्रमुख किम योङ नामसँग एउटै टेबुलमा खान खान अस्वीकार गरेका थिए। पेन्सले उत्तर कोरियाको हिरासत मुक्त भएर स्वदेश फर्केको केही समयपछि मृत्यु भएका अमेरिकी युवकका पिता फ्रेड वार्मवियरलाई आफूसँगै ओलम्पिकको अतिथिका रूपमा दक्षिण कोरिया ल्याएका थिए। अमेरिकाले त उत्तर कोरियाले दक्षिणको यस हिउँदे ओलम्पिक्सलाई प्रोपोगान्डका रूपमा प्रयोग गरिरहेको आरोपसमेत लगाएको छ।

नोभेम्बरमा उत्तर कोरियाले गरेको पछिल्लो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले प्योङयाङमाथि पेट्रोल आयतलगायत अन्य थप विषयमा नयँँ र कडा नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाले वर्षेनि दक्षिण कोरिया र अमेरिकाबीच हुने गरेको संयुक्त सैनिक अभ्यासलाई आफूविरुद्धको युद्धको तयारीका रूपमा हेर्ने गरेको छ। उत्तरकोरियाले अटेरी भएर आणविक हतियार र क्षेप्यास्त्र परीक्षण जारी राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच वाक युद्ध भएको थियो।