माओवादी केन्द्रबाट थापाले सरकारको नेतृत्व गर्ने



धुसूदन रायमाझी, काठमाडौं

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले नै आगामी सरकारको नेतृत्व गर्ने गरी गृहकार्य अगाडि बढेको छ। सरकारको नेतृत्व गर्ने तयारीमा रहेको प्रमुख दल एमालेले सरकार गठनका लागि गृहकार्य अगाडि बढाएको छ।

सरकारमा कुन–कुन दललाई सरकारमा सहभागी गराउने, मन्त्रिमण्डलमा माओवादी केन्द्रलाई कति वटा मन्त्रालय दिनेलगायतको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूसँग आन्तरिक गृहकार्य अगाडि बढाएको एमालेका एक नेताले बताए।

उनले भने– ‘नयाँ सरकार गठनका लागि अध्यक्षले परामर्श शुरू गर्नुभएको छ, माओवादीको सहभागितामा सरकार गठन गर्दा कति वटा मन्त्रालय दिने भन्ने विषयमा पनि छलफल शुरू भएको छ।’ एमाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने तयारीमा छ भने माओवादी केन्द्रले भने सरकारअघि नै पार्टी एकताको खाकाको टुंगो लगाउनुपर्ने अडान राख्दै आएको छ।

पार्टी एकता प्रक्रिया अगाडि बढाउनको लागि बस्ने भनिएको एकता संयोजक समितिको बैठक समेत अध्यक्ष पदमा कुरा मिल्न नसक्दा प्रभावित बन्दै आएको छ। एकता प्रक्रिया र पद बाँडफाँडमा ओली र प्रचण्डबीच एक दर्जनभन्दा बढी छलफल भए पनि सहमति जुट्न सकेको छैन्।

ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ। माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसक्नुभएका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्वअर्थमन्त्री भइसक्नुभएका वर्षमान पुन, पूर्वगृहमन्त्री भइसक्नुभएका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेको माओवादी केन्द्रका एक नेताले बताए। पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ।

यदि सरकारमा जाने अवस्था आएको अवस्थामा पार्टीभित्रको आन्तरिक तयार गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ। पार्टीभित्र शीर्ष तहमा रहेका नारायणजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै वरियता क्रममा रामबहादुर थापा ‘बादल’ रहनुभएको छ। प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेपनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउनेछन्।

प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका थापाले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको माओवादी एक नेताले बताए। उनले भने– ‘सरकारको नेतृत्व ओलीले गर्ने भएपछि माओवादीबाट पनि शीर्ष नेताहरूमध्येबाटै सरकारको नेतृत्व हुन्छ, पार्टीभित्र थापाले नै सरकारका नेतृत्व गरेर जाने विषयमा करिब टुंगो लागेको छ।’

टिकट वितरण गर्ने ठाउँमा रहेर पनि नेता थापाले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएको थिएन। पार्टीले समानुपातिको सूचीमा पनि नाम समावेश नगर्दा थापालाई भावी राष्ट्रपतिको आकांक्षीका रूपमा हेरिएको थियो। तर राष्ट्रियसभा सदस्य बनेलगत्तै थापालाई ओली नेतृत्वका सरकारमा नेतृत्व गरेर जाने बाटो खुलेको छ। पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा थापा रक्षा मन्त्री बन्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्