दुर्घटनामा सिँचाइ सचिवसहित ३ को मृत्यु



सीताराम अधिकारी, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा शनिबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका सिचाँइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित २ को शव फेला परेको छ। उक्त शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले जानकारी दिएको छ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बा२झ ३१४० नम्बरको बलेरो जिप शनिबार बिहान करिब ४ बजे सडकबाट झण्डै ६० फिट तल त्रिशूली नदीमा खसेर थियो। जिपसहित बेपत्ता भएका तीन जनामध्ये सचिव यादवको शव बिहान करिब साँढे नौ बजे गाडीको चालक बस्ने सिटमा फेला पारी नदीबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ।

यसै गरी सचिवसँगै बेपत्ता भएकी करिब १५ वर्षीया उन्नति गुप्ताको शव दिउँसो ४ बजे गाडीको अगाडिपट्टिको सिटमा रहेको अवस्थामा सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेका थिए।

दुर्घटनामा परी वेपत्ता भएका मृतक सचिवका छोरा करीव २१ वर्षिय सन्तोष यादवको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परी गाडी चालक निराजन अधिकारी घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

उद्धार कार्यमा खटिएका गोताखोरहरू मध्ये सशस्त्र प्रहरी हवल्दार तारानाथ चपाँई मृतकको शव नदीबाट बाहिर निकाली पुनः पानीभित्र पस्ने क्रममा घाइते भएका छन्। उनलाई उपचारका लागि तत्कालै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं ल्याइएको छ। छाउनीस्थित सैनिक अस्पतालमा उपचारपछि घाइतेलाई नेपाल एपीएफ अस्पताल बलम्बुमा लगिएको छ।

दुर्घटनामा परेको जीप नदीभित्र करीव ३० फिट पानीको गहिराईमा पुरै डुबेको अवस्थामा सशस्त्र प्रहरी बलका गोताखोरले फेलापारी जीपभित्रबाट मृतकहरूको शव नदी बाहिर निकालेका थिए।

प्रतिक्रिया दिनुहोस्