नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ स्थित सानोभावर जंगलमा माघ २४ गते गोली प्रहार गरी २ जनालाई घाइते बनाएको आरोपमा मनहरीका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट बारुद, कटुवा पेस्तोल तथा प्रेसर कुकर बमसहित विभिन्न विष्फोटक पदार्थसमेत बरामद गरिएको छ ।
माघ २४ गते साँझ पौने ८ बजे हेटौंडा–१९, बस्तीपुर बस्ने ३७ वर्षीय शरण गोले र राक्सिराङ गाउँपालिका–१ बस्ने राजकुमार मोक्तानलाई गोली हानी घाइते बनाएको आरोपमा मनहरी गाउँपालिका–५ बस्ने ३२ वर्षका रामबहादुर मोक्तान र उनकी ३० वर्षीया पत्नी दिलमाया मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
घाइतेमध्ये गोलेको छातिमा गोली लागेको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार जारी छ । मोक्तानको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ४ टाँका लगाइएको र उपचारपश्चात् डिस्चार्ज भएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।
माघ २४ गते मनहरीको सानो भावर जंगलमा एक जना व्यक्तिलाई गोली लागेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक दिलीप झाको नेतृत्व टोली तत्काल घटनास्थलमा पुगेको थियो । एम्बुलेन्ससहित पुगेको प्रहरीले त्यहाँ घाइते भएका दुवैलाई उपचारका लागि भरतपुर पठाएपछि घटनाको प्रारम्भिक अनुसन्धान शुरु गरेको थियो ।
घटनास्थलमा ना. ४० प ६२१५ नम्बर मोटरसाइकल जलेको अवस्थामा देखिएको थियो । घटना अनुसन्धान गर्दै जाँदा उक्त माटरसाइकल आरोपी मुक्तानका दम्पत्तीको भन्ने खुलेको थियो । उनीहरुलाई माघ २६ गते नियन्त्रणमा लिइएपछि घटनाको रहस्य खुलेको हो ।
पक्राउ परेका मोक्तान दम्पत्तीको बयानअनुसार मोटरसाइकल बाटोमा रोकिराखेको अवस्थामा घाइते भएका शरणसहितले मोटरसाइकलमा चढेर आएर बाटोमा मोटरसाइकल रोक्ने को हो भनी अपशब्द बोलेका थिए । विवादबीच शरणले मुक्तानलाई एक थप्पड लगाए । त्यसबाट बढ्दै गएको विवादमा मुक्तानले आफ्नो कम्मरमा राखिएको नलकटुवा पेस्तोलले शरण गोलेलाई एक राउण्ड गोली प्रहार गरे ।
उक्त पेस्तोल मनहरी–९ स्थित जंगलमा फालेको मुक्तान दम्पत्तीले बयान दिए । त्यसपश्चात् २६ गते विहान जिल्ला प्रहरी तथा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले आरोपी रामबहादुरलाई घटनास्थलमा हतियारको खोजीका लागि साथै लिएर गएको थियो ।
तर, त्यस स्थानमा थप हातहतियार फेला नपरेपछि घटना रहस्यमय बन्यो । खरंगा चोक नजिक बाटोमा रहेको बालुवामा एसएलआर राइफलको गोली १ थान, ३०३ राइफलको गोली १ थान फेला परेको थियो । उक्त स्थानमा रामबहादुरले लुकाएको भनिएको हतियार भने भेटिएन । उनलाई पुनः सोधपुछ गर्दा आफ्नो ससुरालीमा लुकाएको भन्दै सत्यता खोले ।
सोही दिन साँझ ६ बजे प्रहरीले वडा नम्बर–५, डिल्लीपुरमा रामबहादुरका ससुरा गोपीलाल रुम्बाको घरमा खानतलासी गरेको थियो । गोपीलालको घरमा पीडित शरणलाई गोली प्रहार गरेको नलकटुवा पेस्तोल १ थानसहित तयारी अवस्थाको कुकर बम १ थान, इन्सासको २ राउण्ड थान गोली, ८ एमएम लेखिएको गोली राउण्ड २ थान, कुकर बम पड्काउने रिमोट १ थान, सुतली बम २ थान, बारुद आधा किलो, डेटकट आधा मिटर, डेटोनेटर ६ थान, पहेंलो गन्धक पदार्थ १ थान, म्याक्सेल लेखेको ब्याट्री २ थान, गाडीको वेरिङको छर्रा ११ थान, रडको टुक्रा ५ थान, कैंची १ थान, कालो टेप १ थान, रेती १ थान, खाक्सी आधा मिटर र नेपाली सेनाको कम्ब्याट १ थान फेला परेको थियो ।
मुक्तान दम्पत्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया