सीमा नाकामा प्रहरीको ज्यादती, नागरिकसँग अबैध रकम असुली र दुव्र्यवहार



हेमन्त पौडेल, कैलाली ।

सीमा नाकामा रहेका प्रहरीले भारतीय नागरिकसंग अबैधरुपमा रकम असुली कार्य अझै रोएिको छैन । सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न बाहाना बनाएर भारतीयहरुसंग पैसा उठाउने काम नरोक्दा भारतीय नागरिकहरु समस्यामा परेका छन् । नेपाल घुम्न आउने भारतीयहरुसंग विभिन्न बाहाना बनाएर सीमा क्षेत्रमा बसेको प्रहरीले पैसा उठाउने गरेको जनगुनासो बढ्दै गएको छ ।

पश्चिम नेपालको गड्डाचौकी नाका भएर नेपाल आउने भारतीय नागरिक तथा भारतीय गाडी चढेर नेपाल आउने अन्य पर्यटकहरुबाट सीमा नाकामा सुरक्षा जाँचकालागि बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतीय गाडीबाट गैरकानुनीरुपमा पैसा उठाउने गरेकाछन् । भारतीय नागरिकहरुप्रति दुव्र्यवहार गर्ने र गैरकानुनीरुपमा रकम उठाउने गरेको समाचार सार्वजनिक भएपनि प्रदेश नम्वर ७ का प्रहरी प्रमुख माधव नेपालको त्यसतर्फ ध्यान जान सकेको छैन । केही दिन अघि भारतीय गाडीहरुबाट धनगढीमा लाईन लगाएर रकम उठाएको प्रसंग सेलाउन नपाउँदै विहीवार मात्र पश्चिम नाका गड्डाचौकीमा पर्यटक बोकेको भारतीय नम्वर प्लेटको गाडीबाट प्रति गाडी २०० का दरले रकम उठाउने गरेकाछन् ।

सुरक्षा जाँचका नाममा बसेको प्रहरीले गैरकानुनी काम गर्दा समेत सरोकारवाला निकाय मौन बस्दा प्रहरी प्रदेश प्रमुखप्रतिनै गम्भीर आशंका उत्पन्न भएको छ । अबैध सामानहरु नेपाल नभित्रियोस र सीमा नाकामा गलत काम नहोस भन्दै सुरक्षार्थ खटिएका प्रहरीले खुल्यामरुपमा रकम उठाउँदा समेत सरोकारवाला निकाय बेखवर बन्नु दुःखद भएको स्थानीय बासिन्दाहरु बताउँछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले ड्युटीमा बसेर रकम उठाउनु र सरोकारवाला निकाय मौन बस्नुले गम्भीर शंका उत्पन्न भएको छ –स्थानीय खेमराज पन्तले बताउनुभयो । बाहिरबाट आउने पाहुनालाई स्वागत सत्कार गर्नुको साटो बाटोमा रोकेर पैसा असुल गर्नुले नेपालप्रति हेर्ने दृष्टिकोण गलत हुने उहाँको भनाई छ ।

सीमा क्षेत्रमा बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले रकम उठाउन होडबाजीनै चलेको छ । जसले राजस्व छली रोक्ने काम गर्नेहो उही निकाय राजस्व छल्न लाग्ने र राज्यलाई ठग्दै आफु अनुकुल काम हुने गरेको छ । सशस्त्र प्रहरीको राजस्व अनुसन्धान गस्तीका प्रहरीहरुनै राजस्व छल्ने काममा प्रयोग हुने गरेकाछन् । दुवै प्रहरी निकायका सात नम्वर प्रदेश प्रमुखहरुका संरक्षणमा अबैध रकम असुली बढेको स्थानीयको आरोप छ । प्रहरी अधिकृतको संलग्नतामा भारतीयहरुबाट रकम असुल हुने गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले इन्ट्री फिस भनेर रुपैयाँ मागेको नैनीताल टुर एण्ड ट्राभल्सका अध्यक्ष विजयमोहन सिंह खातीले बताउनुभयो । उहाँका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रति गाडी १ र १ सय भारतीय रुपैयाँका दरले २ गाडीको ४ सय भारतीय रुपैयाँ लिएका हुन् । प्रहरी र सशस्त्र प्रहरीले भारतबाट आउँदा र फर्किदा रुपैयाँ माग्ने गरेको अध्यक्ष खातीले बताउनुभयो । पैसा नदिए प्रहरीले गाडी चालकको लाइसेन्स माग्ने र अनेक बाहाना गरेर दुःख दिने गरेको उहाँले बताउनुभयो ।

प्रत्येक पटक नेपाल घुम्न आउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनावश्यक रुपमा तनाब दिने गरेको पर्यटक राजेन्द्रसिंह विष्टले बताउनुभयो । उहाँका अनुसार नेपाल घुम्न आउने पर्यटकले सीमा क्षेत्रमा अनावश्यक समस्या भोग्दै आएका छन् । ‘नेपाल घुम्दा समस्या हुँदैन, सीमामा मात्र प्रहरीले अनावश्यक दुःख दिने गरेको छ,’ उहाँले भन्नुभयो ।

बाह्य देशका नागरिकले नेपाल घुम्न रुचाउने भएपनि प्रहरी र अन्य ब्यक्तिको व्यवहारले पर्यटक नेपाल नआउने कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले पर्यटकलाई अनावश्यक दुःख दिने गरेको छ । ‘यसले नेपालको पर्यटन व्यवसायमा समस्या ल्याएको छ, यस्ता कार्य गर्नेलाई कारबाही गरिनुपर्छ,’ उहाँले भन्नुभयो ।

गड्डाचौकीस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका सई नारायण थापाले पैसा मागेको स्वीकार गरेका छन् । ‘इन्ट्रि फिस भनेर एक सय रुपैयाँ मागेको हो, इन्ट्री फिस भनेर पर्यटकहरुले आफैले दिने गरेका छन, पहिला पनि पैसा दिन्थे,’ सई थापाले भन्नुभयो । उहाँका अनुसार इन्ट्रि फिस भनेर मागेको रुपैयाँले ड्युटीमा खाटीएका सबैले खाजा खाने गरेका छन् । ‘दैनिक २र४ सय रुपैयाँ हुन्छ, त्यसबाट आएको रुपैयाँले सबै साथीहरु खाजा खान्छौं,’ उहाँले भन्नुभयो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार कारबाही गरिने सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद पाण्डेले बताउनुभयो ।

केही दिन अघि भारतका नैतीताल,देहरादुनमा आयोजना गरिएका पर्यटन प्रवद्र्धन सम्वन्धी कार्यक्रममा सीमा नाकामा प्रहरीले गर्ने ब्यवाहारबाट पर्यटकहरुले झर्को मान्ने गरेको बताएका थिए । अनावश्यक दुःख दिने गरेकाले नेपाल जान पर्यटकहरु मन नगर्ने भारतीय ट्राभल ब्यवसायीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्