छात्र हत्या मुद्दामा एक जनालाई मृत्युदण्ड


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले मासल खान नामक एक विद्यार्थीको हत्या मुद्दाबारे निर्णय दिएको छ। खानमाथि धर्मको अपमान गरेको झुठो आरोप लगाई हत्या गरेको अभियोगमा मंगलबार अदालतले एक जनालाई मृत्युदण्ड र अन्य पाँच जनालाई आजीवन कारावास सजाय तोकेको छ।

सन् २०१७ मा मुस्लिम धर्मको अपराध गरेको अभियोगमा उत्तर पश्चिम पाकिस्तानको एउटा विश्वविद्यालयको छात्रावासबाट उनका सयौं सहपाठीले उनलाई घिसार्दै निकालेका थिए। गोली हानी मारेर अंगभंग गरिनुअघि उनलाई भीडले नराम्ररी पिटेको थियो।

तीनजना नाइकेलगायत ५७ जना व्यक्तिलाई उनको हत्याको विषयमा मुद्दा चलाइएको हो। सुरक्षालाई मध्यनजर राख्दै आशंकित व्यक्तिहरू थुनिएको हरिपुर सेन्ट्रल जेलमा नै मुद्दा चलाइएको थियो। कट्टरपन्थी इस्लामिक समूहबाट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्णयको सम्मुख कारागार वरपर कडा सुरक्षा प्रबन्ध गरिएको थियो।

धार्मिक रुढिवादी मुलुक पाकिस्तानमा धार्मिक अपमान राजनीतिक र सामाजिक विषय बन्ने गरेको छ। यस मुद्दामा पच्चीस जनालाई सामान्य सजाय सुनाइएको र अन्य छब्बीस जनालाई सफाइ दिइएको अदालतको सूत्रले जनाएको छ।

खानलाई गोली ठोक्ने उनकै सहपाथी इमरान अलीलाई मृत्युदण्ड सुनाइएको हो। यसै हत्याकाण्डमा गत महिना मात्र पक्राउ गरिएका ५८औं आशंकितविरुद्ध छुट्टै मुद्दा शुरू गरिएको बताइएको छ।

मासल खानका पिता इकवाल खानले बीबीसी उर्दुलाई बताएका छन– ‘यस मुद्दाले न्याय गरेको छैन। स्पष्ट भिडियो र अन्य प्रमाणहरू हुँदाहुँदै पनि त्यति धेरै व्यक्ति त्यसै छुटे।’ २५ वर्षीय खान खाइवर पाखतुन्ख्वा प्रान्तस्थित अब्दुल वाली खान युनिभर्सिटी मार्दानमा आम सञ्चार विषय लिएर अध्ययन गर्दै थिए।

आफूलाई मानववादी बताउने खानले छात्रावासको आफ्नो कोठाको भित्तामा चे ग्वेभारा र कार्लमाक्र्सलगायतका राजनेताहरूका तस्वीर र महावाणी टाँस्ने गरेका थिए। मारिनु एक दिनअघि उनको आफ्ना साथीहरूसँग धर्मको विषयमा चर्को विवाद भएको बताइएको छ।

उनले युनिभर्सिटीको नेतृत्वको समेत आलोचना गर्ने गरेका थिए। सन् २०१७ को १३ अप्रिलमा खानले अनलाइनमा मुस्लिम धर्मविरोधी सामग्री राख्ने गरेको हल्ला फैलिएको थियो। पाकिस्तानमा यस्तो अपराधका लागि मृत्युदण्डको व्यवस्था गरिएको छ।