पर्यटकको आकर्षक गन्तव्य भारदेउ



सुरेश तामाङ

काठमाडौंको धूलो–धूँवा, कोलाहलबाट दिक्क हुनुभएको तपाईं कुनै शान्त, स्वच्छ, रमणीय र सुन्दर वातावरणको खोजीमा हुनुहुन्छ भने ललितपुरको भारदेउ उपयुक्त हुनसक्छ।

किनकि, यस ठाउँमा तपाईं एकपटक पुग्नुभयो भने प्रकृतिको अनुपम अनुभव त लिनुहुन्छ नै। साथमा तपाईंले भारदेउको भ्रमणबाट जीवनमा यात्राको एक अविस्मरणीय क्षण बनाउन सक्नुहुन्छ।

तपाईंले त्यहाँ उकालो–ओरालो हाइकिङ गर्न सक्नुहुन्छ। हाइकिङ गर्दै धार्मिकस्थलसम्म पुग्न सक्नुहुन्छ। हाइकिङ गरेर वरपरका मनोरम दृश्यको अवलोकन गर्न सक्नुहुन्छ।

भारदेउको भालुखोलादेखि फूलचोकी र फूलचोकीदेखि फर्केर गुप्तेश्वर हुँदै दलचौकीसम्मको हाइकिङ गर्न सकिन्छ। यो लामो हाइकिङको रूपमा लिइएको छ। यो झण्डै ५ घण्टाको हाइकिङ हो। हाइकिङ भारदेउको भालुखोलादेखि शुरु गरेर थली–देउराली–बुलकी–सेतो ककरा हुँदै फूलचौकी पुग्ने र त्यहाँबाट गुप्तेश्वर महादेव र गुफाको अवलोकन गरेपछि त्यहाँबाट दलचोकीसम्म तपाईंले हाइकिङको मज्जा लिन सक्नुहुन्छ।

त्यस्तै भारदेउमा छोटो हाइकिङ पनि तपार्इंले गर्न सक्नुहुन्छ। पौवाचौरदेखि गुप्तेश्वर मन्दिरसम्म पुगेर त्यहाँ रहेको गुफामा पुग्न सकिन्छ। पौवाचौरबाट मन्दिर पुग्न २ घण्टा समय लाग्छ।  प्राङ्गारिक तरकारी प्रशस्तै उब्जाउ हुने यस भेगमा उत्पादित तरकारीको त्यहाँ खुलेका होमस्टेमा बसेर तपाईं स्वाद लिन सक्नुहुन्छ। स्वाद लिने क्रममा तपार्इंले लोकल गुन्द्रुक, लोकल भाले, लोकल सुकुटी, ट्राउट माछा, ढिडोको समेत स्वाद लिन सक्नुहुन्छ।

सुइरेमा रहेको यलो हाउस, भालुखोलामा रहेको १७ झ्याल होमस्टे र भारदेउ भ्यु मिनी रिसोर्टमा तपार्इंले होमस्टेको सुविधाका साथै स्थानीय विभिन्न परिकारको स्वाद चाख्न पाउनुहुन्छ।

यी होमस्टे लोकल भाले, ढिँडो, ट्राउटलगायत स्थानीय परिकारका पारखीमैत्री हुन सक्छ। भारदेउ पुग्ने बित्तिकै सुइरेको सडकछेउमै रहेको यलो हाउसमा २ सय ५० रुपियाँमा कुखराको मासुसहित ढिडो खान पाउनुहुन्छ। हाउस सञ्चालिका निशा तामाङका अनुसार यहाँ धेरैजसो काठमाडौंबाट भाले र ढिडो खान आउँछन्।

‘यहाँ आउने प्रायःको रोजाइ लोकल भाले र ढिडो नै हो।’ –हाउसका सञ्चालिका तामाङले भनिन्। त्यहाँ जाने प्रायःले लोकल भाले, ढिडोसँगै ट्राउट माछा पनि खान जाने गरेको उनले बताइन्। ट्राउटको भने परिकार बनाएर १ केजीको १७ सय लिन्छिन्।

उनको २५ जनासम्मको क्षमता रहेको होमस्टेमा चार कोठा रहेको छ भने एक रातको ५ सयदेखि ८ सयसम्म रुमचार्ज तोकिएको छ। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन प्रायः प्याक नै हुने गरेको उनले बताइन्।
भालुखोला पुगेर ५ मिनेट उत्तरतिर उकालो लागेपछि १७ झ्याल होमस्टे पुग्न सकिन्छ। सुवास मोक्तानसहितको समूहको लगानीमा सञ्चालन गरेको होमस्टेमा भने यलो हाउसको भन्दा केही फरक सुविधा छ।

भारदेउको १७ झ्याले भनेपछि सबैको मुखमा झुण्डिने नाम पनि हो। भारदेउ, प्रायःजसो मानिस १७ झ्याले घर हेर्न नै भनेर आउँछन्। विसं १९९० सालको भूकम्पले समेत केही नभएको यो घरलाई २०७२ सालको विनाशकारी भूकम्पले भने केही चिरा पारेको छ।

चिरा परे पनि लडिहाल्ने जोखिममा नरहेको यो घरलाई भूकम्पपछि पनि सुवासको समूहले होमस्टेको रूपमा विस्तार गर्दै लगेका छन्। सुवासका अनुसार यो घरले १ सय ५० वर्ष पार गरेको छ।

उनका हजुरबुबा हरिबहादुर मोक्तानले २०५१ सालमा एकान्तकुनामा रहेको बगेना बाटिका रेस्ट्रो (हाल बन्द) का सञ्चालकसँग मिलेर बगेनामा आएका आगान्तुकलाई गाउँ घुमाउन भन्दै १७ झ्यालमा राखिन्थ्यो। त्यस पछि नै त्यो घर होमस्टेको रूपमा विस्तार भएको थियो।

‘२०५७ सम्म चल्यो। त्यो बेला देशमा माओवादी र राज्य पक्षको युद्ध चलेकाले देशमा पर्यटक आउन कम भयो। त्यसपछि बगेना बाटिका रेस्ट्रो बन्द भएको हो।’ –सञ्चालक सुवासले भने।

पछि २०६४ तिर गाउँमा ट्राउट माछा पालन भइसकेपछि फेरि होमस्टेको शुरु गर्नुपर्यो भनेर व्यावसायिकरूपमा शुरु गरेको सञ्चालक सुवासले बताए। १७ झ्याल होमस्टेमा ३ वटा कोठा छन्। भने १२ जना अट्ने क्षमताको हलको समेत सुविधा रहेको छ। सञ्चालक सुवासले बेडचार्ज ७ सय लिने गरेको सुनाए।

लोकल भाले, ढिडो, ट्राउट, साग, सिस्नुलगायतका लोकल परिकार उनको होमस्टेको आकर्षक परिकारहरू हुन्। सुवासको होमस्टेमा १५ जनाको दुई समूह र २५ जनाको एक समूहलाई सुताउने–खुवाउने क्षमता रहेको छ। आवश्यकता परेमा उनी आफैंले भारदेउको रमणीय ठाउँहरूको गाइड गर्छन्।
त्यस्तै भारदेउको लोसेपाखामा रहेको भारदेउ भ्यु मिनी रिसोर्टले पनि भारदेउ घुम्ने आगन्तुकलाई होमस्टे सेवा दिइरहेको छ। सडकछेउमै रहेको यो होमस्टेमा अरु होमस्टेको जस्तै परिकार पाइन्छ।

दाल, भातमा स्थानीय अर्गानिक तरकारीको स्वाद चाख्न पाइन्छ। स्थानीय शम्भु मोक्तानसहितको समूहले २०७२ चैतदेखि यो होमस्टे सञ्चालनमा ल्याएका हुन्। यस होमस्टेबाट भारदेउको पूरै दृश्य अवलोकन गर्न सकिन्छ। २५ जनाको क्षमताको यस होमस्टेको रुमचार्ज ५ सय रहेको सञ्चालक मोक्तानले बताए।

चारैतिर डाँडा बीचमा कतै बाक्लो त कतै छरिएको बस्ती, अधिकांश तामाङसँगै भारदेउ पुग्दा तपार्इंले नेवार बस्ती देख्न सक्नुहुन्छ। प्लस टुसम्मको विद्यालय र स्वास्थ्य चौकी, बिजुली, सञ्चार सेवाको सुविधा भारदेउमा पुगेको छ।

जिल्लाको कोञ्ज्योसोम गाउँपालिकाको वडा नम्बर ५ मा भारदेउ पर्दछ। जहाँ सुइरे, भालुखोला, देलडाँडा, पौवाचौर, लोसेपाखा नामका बस्ती छन्।
भारदेउको विशेषता के छ

सुन्दर रमणीय ठाउँ भारदेउ पर्यटकको आकर्षक गन्तव्य हो। अर्गानिक तरकारी, धार्मिक पौराणिक मन्दिर, पौवा, गुम्बा, पुरातात्त्विक वस्तु, हाइकिङ गर्ने स्थल र गुफासमेत यहाँ रहेको छ।

सबैको मुखैमा झुण्डिने गुफा, गुप्तेश्वर गुफा भारदेउमै रहेको छ। गुफाको अवलोकन गर्दै शिवको दर्शन गर्न धार्मिक आस्था लिएर यहाँ पर्यटक आउने गरेको स्थानीय सुन्दर घिसिङले बताए।

विशेष गरी यहाँ वैशाख पूर्णिमा र माघेसंक्रान्तिका दिन विशेष मेला लाग्ने भएर दर्शन गर्नेको भीड लाग्ने गरेको उनको भनाइछ।
परापूर्वकालमा भष्मेश्वर राक्षसले महादेवलाई भष्म पार्न भनेर लखेट्ने क्रममा महादेव भारदेउको जंगलमा रहेको यो गुफामा आई गुप्तबास बसेको किंवदन्ती छ। गुप्तेश्वर गुफाभित्र रहेको मन्दिरमा दूध चढाए जस्तोसुकै संकटसामु पनि जोगिन सकिन्छ भन्ने विश्वास रहेको छ।
त्यस्तै भागेश्वरी मन्दिरमा पनि माघेसंकान्तिका दिन विशेष मेला लाग्ने गर्दछ। महादेव भाग्दै गुप्तेश्वर पुग्नुअघि भालुखोलाको मुहाननजिकै बास बसेका भएर यहाँ सबैले पुज्ने गरेको स्थानीय सुन्दर मोक्तानले सुनाए।
भागेश्वरी मन्दिरमा पूजा–अर्चना गरेमा चिताएको कामना पूरा हुने, पानीको मुहान नसुक्ने जनविश्वास छ।

ट्राउट माछा
भालुखोलाको मुहानको पानीले रमेश श्रेष्ठले ९ वर्षदेखि ट्राउट माछा पालन गर्दै आएका छन्। माछाको प्रायः बजार गाउँमै खोलिएका अधिकांश होमस्टे नै भएको उनले बताए। प्रायःजसो उनको फर्ममा नै आएर माछा किन्छन्। उनले बजारसम्म लाने भनेको काठमाडौंसम्म हो।
काठमाडौंका रेस्टुरेन्टमा अर्डरअनुसार यहाँको माछा पुग्ने गरेको फर्म सञ्चालक श्रेष्ठले बताए।

ट्राउट माछा स्वस्थकर मात्रै होइन, संसारभरि सबैभन्दा धेरैले रुचाइएको माछासमेत हो। ट्राउट माछाले पोखरीमा भुरा छाडिएको दिनदेखि कम्तीमा ५ महिनापछि मात्रै उत्पादन दिने गर्छ।

दाना खुवाएर पाल्नुपर्ने भएकाले लागत धेरै लागे पनि बजार भने असीमित छ। ट्राउट माछालाई सलादस्वरूप काँचै पनि खान सकिन्छ। स्वादिलो र पोषिलो हुनाले यो माछा पारखीमा बढी लोकप्रिय छ।
पर्यटन प्रवद्र्धनमा प्राथमिकताका साथ लागि परेका छौं।

धार्मिक र शान्त प्रकृतिप्रेमी पर्यटकको आकर्षक गन्तव्य बन्दै गरेको भारदेउको पर्यटन प्रवद्र्धनमा आफ्नो बलबुताले भ्याएसम्म लागिरहेको गुप्तेश्वर युवा क्लबका अध्यक्ष विजय स्याङ्तानले बताए।

‘हामी आफ्नै स्रोत साधन र बलबुताले भ्याएसम्म लागिरहेका छौं’, उनले भने– ‘अहिले योजना बनाउने, पर्यटन प्रवद्र्धनका लागि विभिन्न निकायसम्म पहल गर्ने काम भइरहेको छ।’

त्यस्तै वडा अध्यक्ष सुविन्द्र बलले भारदेउमा पर्यटन प्रवद्र्धनका लागि वडाले उच्च प्राथमिकतामा राखेको बताए। उनले भने– ‘हामीले यस क्षेत्रलाई पर्यटन प्रवद्र्धनका लागि उच्च प्राथमिकतामा राखेका छौं र त्यहीअनुसार अगाडि बढिरहेका छौं।’

भारदेउ पर्यटकको आकर्षक गन्तव्य भइरहेको अवस्थामा वडाले राष्ट्रियस्तरको बजेट पारेर यस क्षेत्रलाई अगाडि बढाउन प्रयास गरिरहेको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्