निर्वाचन सफलतापूर्वक सम्पन्नः यादव



काठमाडौं । निर्वाचन आयोगले ६ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सफलता पुर्वक सम्पन्न भएको जनाएको छ ।
आयोगले बुधबार सांझ पत्रकार सम्मेलन गरि राष्ट्रियसभा निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपुर्ण सहभागितामा मतदान सम्पन्न भएको जनाएको हो ।

बुधबार भएको निर्वाचनमा ६ वटै प्रदेशका जम्मा १ हजार ६ सय ७७ जना मतदातामध्ये १ हजार ६ सय ६९ जना अर्थात् ९९ दशमलब ५२ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर ३ र प्रदेश नम्बर ६ मा सतप्रतिशत मत खसेको छ ।

कुल २ हजार ५६ जना मतदाता मध्ये ६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेशसभाका ४ सय ४ गरी कुल १ हजार ६ सय ७७ जनालाई मताधिकार थियो । मतदान सकिए लगत्तै सम्बन्धित प्रदेशमै रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य सुरु भईसकेको पनि प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिए ।

प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्यहरु निर्वाचित हुने छन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् ।

५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ बाट ८ सहित अन्य प्रदेशका १६ गरी २४ जना निर्विरोध निर्वाचित भएकाले बुधबार ३२ सदस्यका लागि निर्वाचन भएको हो । यो निर्वाचनमा ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्