आठ वर्षपछि पुलिसलाई आहाको उपाधि

0
Shares

धन बस्नेत, पोखरा
बैकल्पिक खेलाडीको गोलमा आठ वर्षपछि नेपाल पुलिस क्लबले आहा रारा गोल्डकपको उपाधि उचाल्दा रुस्लान थ्री स्टार क्लबको दोस्रो उपाधि जित्ने धोको पुरा हुन पाएन।

शनिबार भएको फाइनल खेलमा ९० मिनेटको समय विना गोल मै टुंगिएको थियो। १ सय २ मिनेटमा राम वाजीले गोल गर्दै पुलिसले आहाको १६ औं संस्करणमा उपाधि हात पार्यो। पाँचौ पटक आहा राराको उपाधि उचाल्न निर्णायक गोल गरेका वाजी अभिषेक रिजालको स्थानमा ८३ औं मिनेटमा मैदान आएका थिए।

अफ्रिकन खेलाडी अजाई मार्टिनले क्लियर गर्न नसकेको बललाई निरकुमार राईले दिएको व्याकपासमा म्यान अफ दि म्याच वाजीले डिबक्सभित्रबाट सेकेण्डबारमा हानेको भली गोल भएको थियो। यो गोल नै पुलिसले ७ लाख १ हजार रुपियाँ प्राप्त गर्न पनि सहयोग बन्यो। उता दुई अफ्रिकन खेलाडीलाई मैदानमा उतारेपनि थ्री स्टारलाई पुलिसका युवा खेलाडीले हरेक प्रयासलाई विफल बनाईरहे। त्यसमा पनि डिफेन्स लाईनलाई भने थ्री स्टारका खेलाडीले चिर्नै सकेनन्।

१५ कर्नर किकको अवसर थ्री स्टारलाई जुर्यो। तर डिफेन्सले क्लियर गरिदिए। रेफ्रीले अन्तिम सिटी फुक्नु अघि अन्तिम कर्नर बललाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गरेको हेडिङ फष्टबार नजिकैबाट आउट भएपछि पुलिसले राहतको श्वास फेर्यो। यसले थ्री स्टारलाई उपाधिको लागि अर्को वर्षको सस्करणमा सहभागि हुनुपर्ने बाध्यता थपियो।
इहटरी गोल्डकप उचालेर मनोबल बढेपनि पुलिसलाई पन्छाउन नसक्दा थ्रीस्टारले लगातार दोस्रो उपाधि जित्ने धोको पुरा हुन सकेन। टोलीले ३ लाख ५१ हजार रुपियाँमै चित्त बुझाउनु परेको छ। यो थ्रीस्टारको आहाको फाइनलमा पुलिससँग पहिलो भेट पनि थियो।