एम्बुलेन्स किन्न साढे ११ लाख नगद संकलन

0
Shares

भक्तपुर, (नेस) । चाँगुनारायण नगरपालिकाका साथै मण्डनदेउपुर नगरपालिका र आसपासका क्षेत्रमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्न बिभिन्न दाता एवम् संघसंस्थाहरुबाट रु ११ लाख ४१ हजार ५ सय संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशखाले नयाँ एम्बुलेन्स खरिद गरि सेवा प्रदान गर्न आयोजना गरेको सहयोग संकलन अभियानबाट ११ लाख ४१ हजार संकलन भएको उपशाखा सभापति सोम शर्मा (बजगाईं) ले जानकारी दिनुभयो ।

सहयोग प्रदान गर्नेमा युवा बचत तथा ऋण सहकारी संस्था लि. २ लाख ५० हजार, झझल्को बचत तथा ऋण सहकारी संस्था लि. १ लाख ११ हजार, मुहान गणेश साकोसबाट १ लाख, चाँगुनारायण नगरपालिकाबाट २ लाख, रेडक्रस जिल्ला शाखा भक्तपुरबाट १ लाख, व्यवसायी सरोज थापाबाट ३० हजार, निर्माण व्यवसायी संघ भक्तपुरबाट २५ हजार, केशव अधिकारी, राजाराम खड्का, सोम शर्मा (बजगाईं), शुसिला शाह, ज्ञान बहादुर केसी, श्रीराम लामिछाने र दिवाकर मुनंकर्मीबाट २५–२५ हजार र अन्य बिभिन्न दाता तथा संघसंस्थाबाट १ लाख ९० हजार संकलन भएको सभापति बजगाईले जानकारी दिनुभयो ।

सहयोग संकलन अभियान कार्यक्रममा प्रदेश सभाका सांसद हरिशरण लामिछानेले एम्बुलेन्स खरिद गर्नुभन्दा सञ्चालन र सहि व्यबस्थापन गर्नु प्रमुख चुनौती भएकाले एम्बुलेन्स प्रभावकारी सञ्चालन गर्ने बिधि र योजना निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सामाजिक संघसंस्थाले सञ्चालन गर्ने र गरिरहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रेडक्रस जिल्ला शाखा भक्तपुरका कोषाध्यक्ष प्रदिप केसी, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, कांग्रेस नेता राजाराम खड्का, वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर केसी, सल्लाहकार हरिबोदन बास्तोला, रेडक्रस जिल्ला सदस्य सुभद्रा काफ्लेलगायतले समुदायको सक्रियतामा समुदायकै लागि सञ्चालन गरिने एम्बुलेन्सको प्रभावकारी व्यवस्थापनका लागि रेडक्रसले समन्वय गर्नुपर्ने बताउनुभयो ।