निजी गाडिमा भाडाका यात्रु

0
Shares

सलिम अन्सारी, प्यूठान । मालवाहक जीपहरुले सामान ओसारपसार गर्न मात्र अनुमती पाएका हुन्छन। नियम अनुसार एउटा निजि जिपमा चालक सहित बढिमा ५ जनाको संख्यामा यात्रु राख्न पाउने व्यवस्था छ ।

तर जिल्लाका ग्रामीण सडकमा सामान बोक्ने जिपले नै खचाखच यात्रु बोक्ने गरेका छन् । प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजारबाट मानागाउँ, खलिगाउँ, लुप्लुङ हुँदै फोप्लीका लागि छुट्ने यस्ता पिकअपले छतभरि मान्छे राखेर ओसार्छन् ।

दिनहु यो सडकमा आधा दर्जनको संख्यामा मालबाहक जिप चल्छन। क्षमताभन्दा बढी यात्रु कोचेर गुड्ने यी गाडिमा सहजयात्रा भने यात्रुहरुले कहिलै गर्न पाएका छैन्न।

बाग्दुला–फोप्ली उकालो कच्ची सडकमा क्षमताभन्दा चौ गुणा बढी यात्रु राखेर ओहोरदोहोर गर्दासमेत नियमनकारी निकाय मौन बसिरहेको छ । बाग्दुला बजारमा मात्र ट्राफिक प्रहरी केन्द्रित हुने गरेको छ । कतिपय जिपहरूले प्रहरीलाई ‘छलेर’ क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गर्ने गर्छन् । बढी यात्रु राख्ने सवारीलाई ट्राफिक प्रहरीले नै नियमन गर्नुपर्ने नागरिक समाजका अगुवाको बताउँछन् ।

‘बजारदेखि टाढाका गाउँमा यात्रा गर्ने सवारीको धेरै लापरबाही छ,’ नौबहिनी -८का भिम कुमार पुनले भने, ‘ बाग्दुला (फोप्ली सडकमा चल्ने फिकअपमा खचाखच यात्रु हुन्छन् ।’ उनले भने ‘हामी त्रासै त्रासको यात्रा गर्न बाद्य्य छौं।’

स्थानीय प्रशासनले यस्तो बेथितिलाई नियमन गर्नुपर्ने उनले सुझाव दिए । सामान बोक्ने जिपमा यात्रा गर्दा कुनै दुर्घटना भएमा यात्रुहरूको दुर्घटना बिमा नहुने भएकाले निकै जोखिम रहेको उनले बताए । यो सडकमा सार्वजनिक यातायातका साधन संचालनका लागि स्थानीय स्वर्गद्धारी यातायात समितिलाई आग्रह गरेपनी समितिले टार्ने गरेको पुनले वताए। फोप्लिका वडा अध्यक्ष ओविराम बिकले सार्वजनिक यातायात संचालनका लागि समितिमा निवेदन पेश गरेको जानकारी दिए। यहाँ चल्ने जिपमा महिलासमेत छतमै बसेर यात्रा गर्छन् ।

यहाँका धेरै ग्रामीण सडकमा पिकअप जिपले यात्रु बोक्ने गरेको स्वर्गद्वारी यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए । जिल्लाका आन्तरिक रुटमा सञ्चालन हुने धेरैजसो मालवाहक जिपले यात्रु राखेर हिँड्ने गरेको उनको भनाइ छ ।बजारदेखि टाढा पुगेर प्रहरीलाई छलेर जिपहरुले यात्रु बोक्ने गरेको जिल्ला ट्राफिक कार्यालय देविस्थानका प्रमुख प्रहरी नायव निरिक्षक छविलाल ढकालले जानकारी गराए।

‘थोरै जनशक्ति हुँदा पनि प्रभावकारी नियमन गर्न सकेका छैनौँ, उनले भने, ‘जिल्लाभर ९ जना मात्र ट्राफिक प्रहरी छन्।ुजिल्लाकै धेरैजसो यात्रुहरुको चाप बढी हुने बाग्दुला, विजुवार क्षेत्रमा दुई जना मात्र ट्राफिक प्रहरी रहेको उनले बताए। ढकालका अनुसार बाग्दुला, विजुवार, भिंगृ र ढुंगेगढीमा एक/एक जना प्रहरी खटिएका छन्। ‘मुख्य सडकमा क्षमताभन्दा धेरै यात्रु राख्ने काम रोकिएको छु,उनले भने,‘कतिपय गाउँका सडकमा अझै नियन्त्रण गर्न सकिएको छैन्। यसबारे थप योजना बनाएर अघि बढ्छौँ।’