निशुल्क स्वास्थ्य शिविर

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाइनान्स काठमाण्डौंको संयुक्त आयोजनामा यही माघ २२ र २३ गते शिविर सञ्चालन हुने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शिविरको आयोजना गरिएको हो ।”

हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने मूल नाराका साथ रौलेश्वर मावि रामकी बरायलको प्रांगणमा हुने शिविरमा सबै प्रकार बिरामीहरुको जाँच, परामर्श र उपचार, दन्त सेवा, स्त्रीरोग सेवा, नाक, कान, घाटी सेवा, बालरोग सेवा, छाला रोगको जाँच र प्रयोगशाला सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । शिविरमा आई निशुल्क रुपमा सेवा लिनका लागि गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ ।

यसका साथै आईतवार निशुल्क परिवार नियोजन शिविरको समेत आयोजना गरिएको छ । सन्तानको रहर पुगिसकेका दम्पतीहरुलाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गरेका जनाएको छ ।