प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

0
Shares

विमल विष्ट, डोटी । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘ त्रीलोचन जीको नाम सिफरीस भएको छ,अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।’

यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट डोटी बाट पराजित भएका थिए ।

यस अघी माओवादी भित्र कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा भएपनि भट्टको नाम एका एक सिफारीस भएको हो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन् । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको माओबादी श्रोतले बतायो ।

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली कांग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताउनु भयो ।

प्रदेश नं ७ मा कांग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन् । प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहेका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताए ।

५३ सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् ।