कालिञ्चोकमा हिउँ हेर्ने पर्यटक


चिरञ्जीवी मास्के
दोलखा⁄दोलखाको उच्च भेगमा हिमपात भएपछि धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोकमा आउने पर्यटकको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत शुक्रबार बेलुका कालिञ्चोकमा होटल नपाएपछि धेरै पर्यटक गोठ र गुम्बामा समेत बसेको र कतिपय पर्यटक हिउँ हेरेर सदरमुकाम चरिकोट नै फर्किएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए।

कालिञ्चोकमा रहेका होटलमा ३ हजारसम्म पर्यटक अट्न सक्ने भए पनि गत शुक्रबार एकैदिन ५ हजारभन्दा बढी पर्यटक पुगेको शेर्पाको भनाइ छ। सदरमुकाम चरिकोटमा रहेको होटलसमेत भरिएकाले कतिपय पर्यटक रातभरि सडकमै रमाइलो गरेर बसेको क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले बताए।

एक हप्ताअघि यो वर्षको पहिलो हिमपात भएपछि कालिञ्चोक आउने पर्यटकको संख्या बढेको र अहिलेसम्म १५ हजारभन्दा बढी पर्यटक हिउँ खेल्नका लागि कालिञ्चोक आएको स्थानीय कालिञ्चोक रिर्सोटका सञ्चालक ग्याल्बु पाख्रिनले बताए। हिमपातपछि कालिञ्चोक आसपास ढेड फिटसम्म हिउँ जमेको थियो भने लस्करै देखिने हिमालले पर्यटकलाई थप आकर्षित गरेको थियो। अहिले पनि कालिञ्चोकमा हिउँ बाँकी नै रहेको र पर्यटकको आगमन पनि बढिरहेको पाख्रिनको भनाइ छ।

धार्मिक एवं पर्यटकीय महत्त्वको कालिञ्चोकमा हरेक शुक्रबार, शनिबार र मंगलबार ३ हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन्।

यो वर्ष हिमपात भएपछि यो संख्यामा अत्यधिक वृद्धि भएकाले पर्यटकलाई राख्ने ठाउँको समस्या भएको पाख्रिनको भनाइ छ। कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा अहिले ४० वटा होटल रहेका छन्। कुरीबाट झण्डै एक घण्टाको पैदल यात्रामा कालिञ्चोक मन्दिरमा पुग्न सकिन्छ। हिमपात भएपछि कतिपय पर्यटक भने कुरी आसपास हिउँ खेलेर फर्कने गरेका छन्।

कालिञ्चोकका लागि अहिले काठमाडौंको कोटेश्वरबाट सीधै सुमो पाउने भएकाले पनि पर्यटकलाई सजिलो हुने स्थानीय होटल व्यवसायीको भनाइ छ। काठमाडौंबाट थोरै सुमो मात्र कालिञ्चोक पुग्ने भएकाले अधिकांश पर्यटक भने चरिकोट आउने र चरिकोटबाट बोलेरोमा कालिञ्चोक पुग्ने गरेका छन्। कालिञ्चोकमा अहिले बस्न र एकछाक खाना तथा बिहानको नास्ताका लागि प्रतिव्यक्ति १२ सयदेखि १५ सयसम्म लिने गरिएको स्थानीय व्यवसायी सोनाम शेर्पा बताउँछन्।
३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निक्कै महत्त्वपूर्ण मानिन्छ। कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो।

किम्वदन्तिअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ। कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान भएको जनविश्वास रहँदै आएको छ। कालिञ्चोक क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने तथा ढुंगा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्तिसमेत प्रचलनमा रहेको छ। कालिञ्चोकको दर्शन गर्यो भने मागेको कुरा पूरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा वृद्धि हुने जनविश्वास रहँदै आएको छ।