पहिलो प्रदेशसभा बैठकको तयारी अन्तिममा

0
Shares

हेटौंडा, (नेस) । नेपालमा पहिलो प्रादेशिक संरचनाअन्तर्गत् आज माघ १८ गते बिहीबार बस्ने ३ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा–१० मा रहेको क्षेत्रीय शिक्षा निर्देशनालय भवनमा तोकिएको प्रदेशसभा सचिवालय तथा बैठक भवनमा आवश्यक तयारीलाई तीव्रता दिँदै सिंगारपटार जारी छ ।

हिजो साँझसम्म आवश्यक तयारी करिब सम्पन्न भएको छ । सचिवालय सचिव रोजनाथ पाण्डेका अनुसार १ सय १० सांसद्का लागि संसद् भवन र सचिवालय तयार पार्ने काममा कर्मचारी संयन्त्र तयारीमा जुटेको छ । सांसद्लाई ब्यवस्थितढंगले राख्न कुर्सी ब्यवस्थापन र सभाहल आकर्षक बनाउन काम भइरहेको छ । रंगरोगनदेखि, कार्पेट, पर्दा फेर्न र रोष्टम बनाउनेलगायत कामलाई तीव्रता दिइएको छ ।

प्रदेशसभा बैठकका भवनलाई तीव्रताका साथ बेहुली झैं श्रृंगार गरिँदैछ । प्रायः शिक्षासम्बन्धि तालीम, गोष्ठी वा कार्यक्रम हुँदामात्र चहलपहल हुने उक्त भवनमा कामको चापका कारण कामदार÷कर्मचारी विहानदेखि व्यस्त देखिन्छन् ।

साँघुरो सभाहल र छोटो तयारीमा भएको सपथग्रहणमा सांसद्हरुलाई बस्न असजिलो भएको थियो । सपथग्रहणको कार्यक्रम छोटो समयमा भएकाले ब्यवस्थित सभाहल निर्माण गर्न नसकिएको प्रदेश प्रमुख कार्यालयका सचिव पाण्डेले भन्नुभयो ।

सरकारले अस्थायी राजधानी तोकेपछि शहरी विकास मन्त्रालयअन्तर्गत् भवन निर्माण विभागलाई आवश्यक तयारी र भवन निर्माणका लागि छुट्याएको साढे ७ करोड बजेट हाल पर्याप्त हुने भवन प्रविधि तथा अनुसन्धान तालिम केन्द्र प्रमुख सुदीप आचार्यले बताउनुभयो ।
बैठकलाई मर्यादित बनाउन प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरी र बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना खटाइने भएको छ ।

सर्वदलीय बैठकले प्रदेशसभा बैठकको कार्यविधि तय गरेको छ । बैठकमा मुख्य एजेण्डा तय गरिएका छन् । प्रदेश प्रमुखले संसद् बैठकका लागि आह्वान गरेको पत्र पढ्ने र प्रदेश सभामुख निर्वाचनको मिति घोषणा गरिने छ ।

प्रदेशसभा पहिलो बैठकलाई ऐतिहासिक र भब्य बनाउने विषयमा र्काचारीहरुले नियमित काम गरिरहेका छन् । प्रदेशसभामा रहने कर्मचारीहरु सहितको सहभागितामा बुधबार ‘डेमोस्ट्रेसन’ गरिएको छ । बैठकका लागि सभामुखको कार्यकक्ष, सचिवको कार्यकक्ष, स्वास्थ्य एकाईं ब्यवस्थापन गरिसर्किको ।

३ नम्बर प्रदेशका दलगत आधारमा नेकपा एमालेका ५८, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, राप्रपाका १, राप्रपा प्रजातान्त्रिकका १, नेमकिपाका २, नयाँ शक्तिका १, विवेकशीलका ३ र अन्य ८ जना गरी १ सय १० सांसद् छन् ।