भूकम्पपछिको पुनर्निर्माणः उठ्दैछ सिन्धुपाल्चोक



नानीराम नेपाल, सिन्धुपाल्चोक

चाउरी परिसकेका गाला, तिलचामले कपाल। जीवनको ५९ वर्षको उमेरमा काम खोज्दै सिन्धुपाल्चोकसम्म आइपुगेका मान्छे हुन् जुम्लाका सिंगाबहादुर थापा। साँच्चै, श्रम गर्न उमेरले नछेक्ने रहेछ, न त भूगोलले नै श्रम गर्नका लागि रोक्ने रहेछ। जुम्लामा भनेजस्तो केही काम नभेटेपछि काम खोज्दै सिन्धुपाल्चोक आइपुगेका हुन् उनी। आम्दानीको अरू केही उपाय नभएपछि मजदुरी खोज्दै आइपुगेका सिंगाबहादुर यतिबेला सिन्धुपाल्चोकको पुनर्निर्माणमा सघाउँदै छन्। ‘जहान परिवार पाल्नुपर्छ, बालबच्चा पढाउनुपर्छ’, शनिबार ठोकर्पास्थित बाघभैरव माध्यमिक विद्यालयमा मजदुरी गरिरहेका उनी भन्दैथिए– ‘उता त हिउँ परेर काम केही गर्न पाइँदैन, दुईचार पैसा नकमाए त परिवार पाल्नै सकिन्न।’ उनीजस्तै जुम्लाका २१ वर्षीय धिरज थापा पनि मजदुरीका लागि सिन्धुपाल्चोक आइपुगे। बैदेशिक रोजगारीलाई हापेर मजदुरीका लागि उनी सिन्धुपाल्चोकको भूगोलमा आइपुगेका हुन्। ‘विदेशमा पनि दुःखै गर्ने हो, अर्काको ठाउँमा के भर हुन्छ र ?’, उनी भन्छन्– ‘यो त हामै्र देश त हो, जिल्ला फरक भएर के भो ?’ दैनिक ८ सय ज्यालादरमा मजदुरी गरिरहेका उनी मासिक २४ हजार कमाइ हुने बताउँछन्। ‘यहाँ भत्किएका घर र स्कुल पनि बन्छ, हामीलाई कमाइ पनि हुन्छ’ –उनी भन्छन्।

चार वर्षसम्म कतारमा पसिना बगाएर नेपाल फर्किएका सप्तरीका २४ वर्षीय सञ्जयकुमार राम यतिबेला सिन्धुपाल्चोकको भूगोलमा पसिना बगाइरहेका छन्। मधेसमा आर्थिक उपार्जनको मेसो नभएपछि भूकम्पले ढलेका बस्ती पुनर्निर्माणका लागि ‘पहाड यात्रा’ तय गरेका हुन् उनले। बाघभैरव माध्यमिक विद्यालय पुनर्निर्माणमा पिल्लर ठड्याइरहेका उनी मात्र एउटा विद्यालय ठड्याइरहेका छैनन्, लाग्छ आफ्नै जिन्दगीको पील्लर ठड्याउँदै छन् पहाडमा। पहाडमा आएर फलाम काटिरहेका उनी आफ्नै जीवनको अभावलाई काट्दै छन्। बांगिएका रडहरूसँगै उनी आफ्नै जीवनको लय सोझ्याउँदै छन्। कतारमा चार वर्ष रहँदा बस्दा उनले न सोचेजस्तो पैसा कमाए, न त जोगाए नै। केही महिनाअघि मात्र कतारबाट फर्किएका उनी चार महिनाअघि भूकम्पग्रस्त सिन्धुपाल्चोकमा मजदुरी खोज्दै आइपुगेका हुन्। यतिबेला सुनकोसी गाउँपालिका–१ ठोकर्पास्थित बाघभैरव माध्यमिक विद्यालय पुनर्निर्माणमा मिस्त्रीको काम गरिरहेका छन् उनी। ‘सप्तरीबाट आएको हुँ, चार महिनादेखि पहाडको पुनर्निर्माणमा छु, उनी भन्छन्–‘कतारभन्दा यहीं राम्रो छ, एक दिनमा १ हजार बचाउँछु।’

विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकले सर्वाधिक क्षति व्यहोर्यो। जिल्लाका लगभग शतप्रतिशत घर संरचना भत्किए। तर भूकम्पमा सिन्धुपाल्चोकका घर संरचना भत्किँदा जिल्लाबाहिरका मानिसहरूलाई मजदुरीको अवसर भएको छ। उनीहरूलाई श्रम बेच्न विदेश जानु परेन, पसिना बगाउन खाडीमा पस्नुपरेन। ३ महिनाको बिदामा साउदीबाट फर्किएका सुर्खेतका मन्दिरे बस्नेत बैदेशिक रोजगारीको यात्रालाई बिट मारेर मजदुरी गर्न सिन्धुपाल्चोकमा आइपुगे। विगत दुई महिनादेखि चौतारा साँगाचोकगढी नगरपालिकाको जल्केनीमा पुनर्निर्माणमा पसिना बगाइरहेका छन् उनी। ‘सिन्धुपाल्चोकमा घर भत्किए, मेरा लागि मजदुरी गर्ने अवसर भयो’, उनी भन्छन्– ‘आफ्नै देशमा काम पाइयो भने दुःख गर्न किन बिदेश जानु ?’

आयातित कामदार, पुनर्निर्माणमा सजिलो
जिल्लामा कामदारको अभाव भइरहँदा गाउँबस्तीको पुनर्निर्माणमा बाहिरी जिल्लाबाट कामदार आएपछि सजिलो भएको भूकम्पपीडितहरू बताउँछन्। बाहिरबाट कामदार नआएका भए अझै पनि पुनर्निर्माणमा सुस्तता भइरहने थियो। कामदार नभएर पहिलो किस्ता लिएका अधिकांशले डीपीसीसम्म नै गरेका थिएनन्, तर बाहीरका कामदार आएपछि यतिबेला अधिकांशले डीपीसीको काम सम्पन्न गरिसकेका छन्। ‘बाहिरबाट मान्छे नआएका भए धेरैले डीपीसी नै गर्न सक्दैनथे’ –सुनकोसी–६ थुम्पाखरका देवीबहादुर भण्डारी भन्छन्। थुम्पाखरमा रुकुम, रोल्पा, हुम्ला, जुम्ला, सुर्खेतलगायतका जिल्लाबाट पुनर्निर्माणमा काम गर्न कामदारहरू आइरहेको उनले सुनाए। गाउँमा पुनर्निर्माणमा खटिरहेका कामदारमध्ये ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिरका नै भएको उनले सुनाए। ‘सुदूरदेखिका मान्छे छन्, मधेसदेखि आएका छन्’ –भण्डारीले भने।

बाहिरी जिल्लाबाटै कामदार आएपछि यतिबेला ठूलोसिरुबारीको अर्चलेका सबैले पुनर्निर्माण शुरु गरे। यस गाउँका अधिकांशले घरको डीपीसी गरिसकेका छन्। कामदार नपाएका कारण भूकम्पको साढे दुई वर्षसम्म पुनर्निर्माण शुरु गर्न नसकेका भूकम्पपीडितले कामदार पाएपछि पुनर्निर्माण थालेको अर्चलेका स्थानीय अर्जुन अधिकारी बताउँछन्। ‘घर त सबैका भत्किए, पालो गरेरै घर बनाउन पनि समस्या परिरहेको थियो’, उनले भने– ‘हुम्ला, जुम्लादेखिका मान्छे आएपछि सबैले एकसाथ पुनर्निर्माण शुरु गरेका छन्।’

पछिल्लो दुई महिनायता जिल्लामा पुनर्निर्माणले केही गति लिएको छ। तर पुनर्निर्माणमा मिस्त्रीदेखि मजदुरसम्मको काम जिल्लाबाहिरकै जनशक्तिले धानिरहेको छ। सरकारी र सामुदायिक संरचना पुनर्निर्माणमा मात्र होइन, यतिबेला भूकम्पपीडितका निजी आवास पुनर्निर्माणमा पनि जिल्लाबाहिरका मजदुरहरू खटिरहेका छन्। कामदार अभाव झेलिरहेको पुनर्निर्माणमा कामदार अभावमा सुस्त बनिरहेको पुनर्निर्माणमा सुदूरबाट मजदुरहरू आएपछि पछिल्लो समय पुनर्निर्माणले गति लिइरहेको छ।

ठडिए ८ हजार घर
४६ हजार घर धमाधम पुनर्निर्माण
विनाशकारी भूकम्पको ३२ महिनाका बीच दश प्रतिशत निजी घर पुनर्निर्माण सम्पन्न भएका छन् भने ६० प्रतिशत घर संरचना पुनर्निर्माण शुरु भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस मसान्तको अन्तिम समय सीमा तोक्दै भूकम्पपीडितलाई ताकेता गरेपछि पछिल्लो दुई महिनाको अवधिमा पुनर्निर्माणले पिकअप लिएको हो। माघ पहिलो सातासम्ममा ८ हजार २ सय निजी घर निर्माण सम्पन्न भएका छन् भने ४६ हजार निजी घर पुनर्निर्माण शुरु भइसकेका छन्। पुनर्निर्माण अनुदानको पहिलो किस्ता प्राप्त गरेपछि सरकारी मापदण्डअनुसार नै जिल्लाका विभिन्न गाउँ, नगरमा गरी ४६ हजार भूकम्पपीडितले धमाधम घर बनाइरहेका छन्। ‘पुनर्निर्माणमा उल्लेख्य प्रगति देखियो, पछिल्लो दुई महिनामा निजी आवास पुनर्निर्माणको कामले गति लिएको छ’ –भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंकप्रसाद गौतमले भने।

पहिलो किस्ताको काम सम्पन्न गरिसकेकाहरूलाई दोस्रो किस्ता र तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरणको क्रम बढेको पनि उनले बताए। भवन निर्माण डिभिजन कार्यालयको पछिल्लो तथ्यांकअनुसार ३५ हजार २ सय ९५ ले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् भने उनीहरूमध्ये ३५ हजार १ सय २१ लाई दोस्रो किस्ताको प्रमाणीकरण र सिफारिस भइसकेको छ। हालसम्म ५ हजार २ सय ६० ले तेस्रो किस्ताका लागि निवेदन दिएकोमा ५ हजार १ सय २९ लाई तेस्रो किस्ताको अनुदान रकम निकासा भइसकेको छ। दोस्रो तथा तेस्रो किस्ताका लागि सम्बन्धित स्थानीय तहमा दर्ता भएका निवेदनमध्ये भवनसंहिताविपरीत बनेका घरहरू भने प्रमाणीकरण हुन सकेका छैनन्। भवनसंहिताअनुसार नभएपछि ३ सय १६ घर बाँकी किस्ता भुक्तानीको लागि प्रमाणीकरण हुन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्