स्वस्थानीको साङ्गे विहान सबेरै गर्नु राम्रो
टीका बन्धन, काठमाडौं ।
बुधवार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । व्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरु बाहेक अधिकांश मुलुकहरुमा प्रष्ट रुपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ।
नेपाली समय अनुसार साँझ ५ बजेर ३२ मिनेटमा प्रारम्भ हुने ग्रहण राती ८ बजेर ५६ मिनेटमा समापन हुने बताइएको छ । काठमाडौंमा ५ बजेर ३६मा चन्द्रमा उदाउने भएकाले चन्द्रमा उदाउँदा उदाउँदै ग्रहण महसुस गर्न सकिने खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो ।
‘खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ’–उहाँले भन्नुभयो, धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टे«लिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने आचार्यले जानकारी दिनुभयो ।
चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ । यो ग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाहरुका लागि शुभ मानिएको छ । तर मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशी भएकाहरुका लागि शुभ मानिएको छैन । ग्रहणको समयमा शुभ कार्य गर्नु राम्रो नहुने धार्मिक विश्वास पनि छ ।
पर्सी एक महिने स्वस्थानी पूर्णिमाको साङ्गे परेकाले साङ्गे कार्य ग्रहण अघि वा पछि मात्रै गर्न शुभ हुने बताइएको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार चन्द्र ग्रहणको दोष ३ प्रहर र सूर्य ग्रहणको दोष ४ प्रहर अघि नै शुरु हुने गर्छ ।
त्यसैले स्वस्थानीको साङ्गे विहान ९ बजे भन्दा अघि नै गर्नु उत्तम हुने उहाँले बताउनुभयो । ‘ग्रहणको दोष शुरु हुनु भन्दा अघि नै साङ्गे गर्दा फरक पर्दैन, बुधवार विहानै शुभकार्य गरेको राम्रो’–गौतमले भन्नुभयो ।











प्रतिक्रिया